जङ्ग र रुपालाई बाँके एमटिबी रेस उपाधि
नेपालगन्ज / जिल्लामा पहिलो पटक आयोजना गरिएको बाँके एमटिबी रेसको मुख्य उपाधि जङ्ग थारु र रुपा थारुले जितेका छन्।
पाँच किलोमिटर दुरीको क्रस कन्ट्री रेसमा इलाइट पुरुषतर्फ जङ्गले ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गरी प्रथम हुँदा विशाल थारु(५७:५६) दोस्रो र विमलेश यादव(५७:५८) तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो ।
त्यसै गरी इलाइट महिलातर्फ रुपाले ४३:३६ मिनेटको समय निकालेर काेर्ष पूरा गर्दा कविता सार्कीले ४६:४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भइन् । शीर्ष तीन जनाले क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाउन सफल भए ।
नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल काेर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दोस्रो र विशाल श्रेष्ठ (४१:०६) तेस्रो भए । मास्टर तर्फका शीर्ष तीन जनालाई नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै पदक प्रमाणपत्रले कदर गरियो। त्यस्तै भेट्रानतर्फ अजय केसी(४१:०३), जितेन्द्र थारु (४२:०८) र कविराम थारु (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।
युसिआई क्रस कन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलाेचन बोहराले ३५:४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५:५५ समय लिई दोस्रो र रञ्जित चौहानले ३७:०८ समय लिएर तेस्रो स्थान सुरक्षित गरे । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गरे ।
डुडुवा गाउँपालिका स्थित जङ्गलमा रहेको यो काेर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकल मार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यश रेसलाई महत्त्वपूर्ण आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजकाे सहकार्यमा भएको यो रेस हरेक वर्ष सञ्चालन गरिने थापाले बताए ।