नेपाली र अमेरिकी समलिंगीबीच पहिलो पटक विवाह दर्ता
काठमाडौँ। नेपाली समलिंगी नागरिक र अमेरिकी समलिंगी नागरिकबीच पहिलो पटक नेपालमा विवाह दर्ता भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ ले नेपाली प्रजित बुढाथोकी र अमेरिकी जोसेफ फोस्टर एलिसको समलिंगी विवाह प्रमाणपत्र प्रदान गरेको हो। विवाह प्रमाणपत्रमा दुवैलाई “पति” भनेर उल्लेख गरिएको छ।
एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले उनीहरूलाई बधाई दिएका छन्। पन्तका अनुसार, “मायाको पहिचान नेपाल” संस्थाको पहलमा समलिंगी/तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता भइरहेको छ।
सामाजिक सञ्जालमा जोसेफ र प्रजितको विवाह उत्सव चाँडै हुने जानकारी दिँदै पन्तले उनीहरूको फोटो पनि सार्वजनिक गरेका छन्।
१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता गर्न ७५३ स्थानीय तहलाई निर्देशन दिएको थियो। यसअघि, माया गुरुङ र सुरेन्द्र पाण्डे दक्षिण एसियाकै पहिलो समलिंगी तेस्रो लिङ्गी जोडीको रूपमा १३ मङ्सिर २०८० मा विवाह दर्ता गराएका थिए।