१४ औ आइओएफटीसी विजेतालाई हेडक्वाटरमा सम्मान
पोर्टल्याण्ड, ओरिगन/ दक्षिण कोरियामा सम्पन्न १४ औ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का विजेता खेलाडीलाई हेडक्वाटरमा सम्मान गरिएको छ।
आइओएफटीसीको १४ औ संस्करण दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा अगस्ट २३ र २४ तारिखमा भएको थियो। आइओएफटीसीको हेड क्वाटर अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा छ।
च्याम्पियनसिपमा सहभागी युएस वर्ड क्लास तेक्वान्दो हलिउडका खेलाडीलाई अमेरिकाको पोर्टल्याण्डमा गत हप्ता सम्मान गरिएको हो।
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले च्याम्पियनसिपमा आठ स्वर्ण, ६ रजत र ४ कांस्य पदक जितेको थियो। विजेता खेलाडीलाई ९० वर्षीय देवीलक्ष्मी महर्जनले खादा लगाइ आशीर्वाद दिनु भएको थियो।
आईओएफटीसीको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल, अमेरिका सहित आठ देशमा ६ सय ५० खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए।
नेपालबाट शुरु भएको च्याम्पियनसिप अमेरिका, भारत, हङ्ककङ्क, बेलायतमा पनि सम्पन्न भइसकेको छ। च्याम्पियनसिप एक पटक अमेरिका र अर्को पटक अमेरिका बाहिर हुँदै आएको छ।
दक्षिण कोरियामा भने आइओएफटीसी पहिलो पटक पुगेको हो। सबै भन्दा रोचक कुरा तेक्वान्दोको जननी दक्षिण कोरियामा कुनै पनि गैर कोरियनले प्रतियोगिता गरेको यो पहिलो अवसर थियो।
आइओएफटीसीका निर्देशक ग्राण्डमास्टर दिवाकर महर्जन हुन्।
उनी युएस वर्ड क्लास तेक्वान्दो हलिउडका संस्थापक तथा प्रमुख प्रशिक्षक हुन्। युएस वर्ड क्लास तेक्वान्दो हलिउड अमेरिकामा नेपालीले संचालन गरेको पहिलो तेक्वान्दो स्कूल हो।
यसको स्थापना २९ वर्ष अगाडि भएको थियो। विजेता खेलाडीको सम्मानमा रात्री भोजको पनि आयोजना गरिकएको थियो।
र यो पनि…