पेन्सिल्भेनिया ल्यानक्यास्टरमा कोभिडका बेला गत विवरण बुझाएर ठगी गर्ने युवकलाई १५ महिना जेल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यान्कास्टर काउन्टीस्थित लिटिजका २६ वर्षीय क्रान्डन वेङ्गरलाई कोभिड–१९ महामारीका बेला सञ्चालन गरिएको इन्टरनेट सहायता कार्यक्रममा गलत विवरण बुझाएर ठगी गरेको भन्दै जेल सजाय सुनाइएको छ ।
वेङ्गरले ७ लाख ४१ हजार ७२६ डलर ठगी गरेको अभियोगमा संघीय अदालतले १५ महिना जेल सजाय सुनाएको हो।
अमेरिकाको पूर्वी पेन्सिल्भेनिया जिल्लाका अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार वेङ्गरलाई नोभेम्बर १७, मंगलबार संघीय जिल्ला न्यायाधीश जोसेफ एफ. लिसन जुनियरले सजाय सुनाएका हुन्।
जेल सजायपछि उनले तीन वर्ष निगरानीमा बिताउनुपर्नेछ भने ठगीबाट भएको क्षतिबापत ७ लाख ४१ हजार ७२६ डलर फिर्ता गर्नुपर्नेछ।
अदालतमा पेस गरिएका कागजात र सरकारी वकिलको कार्यालयका विवरणअनुसार वेङ्गरले के–२० वायरलेस एलएलसी नामक इन्टरनेट सेवा प्रदायक कम्पनी सञ्चालन गर्दै आएका थिए।
अमेरिकी सरकारले कोभिड महामारीका बेला न्यून आय भएका परिवारलाई इन्टरनेट सेवा उपलब्ध गराउन ‘अफोर्डेबल कनेक्टिभिटी प्रोग्राम’ (एसीपी) सञ्चालन गरेको थियो। सन् २०२१ को इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट एन्ड जब्स एक्टमार्फत आर्थिक स्रोत जुटाइएको यो कार्यक्रमले योग्य परिवारको इन्टरनेट खर्चमा सहयोग पुर्याउँथ्यो।
कार्यक्रमअन्तर्गत इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रत्येक योग्य परिवारका लागि प्रतिमहिना ३० डलर सरकारी अनुदान पाउँथे। तर आदिवासी समुदायका क्षेत्रमा बसोबास गर्ने परिवारका लागि प्रतिमहिना ७५ डलर उपलब्ध गराउने व्यवस्था थियो।
वेङ्गरले सन् २०२२ मार्चमा आफ्नो कम्पनीलाई उक्त कार्यक्रमको सेवा प्रदायकका रूपमा दर्ता गराएका थिए। अप्रिलमा स्वीकृति पाएपछि कम्पनीले ग्राहक भर्ना गर्न र सरकारी अनुदानका लागि दाबी पेस गर्न थालेको थियो।
तर कम्पनीले सरकारसँग अनुदान माग्दा अधिकांश ग्राहक आदिवासी समुदायका क्षेत्रमा बसोबास गर्ने भन्दै विवरण पेस गरेको थियो। अनुसन्धानमा ती विवरण झूटो रहेको खुलेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
वेङ्गरले आफ्ना कर्मचारी तथा प्रतिनिधिहरूलाई गैरआदिवासी क्षेत्रमा बसोबास गर्ने ग्राहकको ठेगाना परिवर्तन गरेर आदिवासी क्षेत्रको ठेगाना राख्न लगाएका थिए। यसरी प्रतिपरिवार ३० डलर पाउनुपर्नेमा ७५ डलरका दरले सरकारी अनुदान दाबी गरिएको थियो।
यसबाट अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले के–२० वायरलेसलाई करिब ७ लाख ४१ हजार ७२६ डलर बढी भुक्तानी गरेको सरकारी अनुसन्धानबाट खुलेको छ।
वेङ्गरविरुद्ध गत मे महिनामा तार माध्यमबाट ठगी गरेको दुई अभियोगमा मुद्दा दायर गरिएको थियो। उनले जुन महिनामा दुवै अभियोग स्वीकार गर्दै दोष स्विकारेका थिए। उनले ग्रान्ड जुरीबाट अभियोगपत्र जारी गराउने प्रक्रियासमेत त्यागेका थिए।
मंगलबार सुनाइएको फैसलाअनुसार उनले १५ महिना संघीय जेलमा बिताउनुपर्नेछ। जेलबाट छुटेपछि तीन वर्षसम्म अदालतको निगरानीमा रहनुपर्नेछ र सरकारलाई ७ लाख ४१ हजार ७२६ डलर क्षतिपूर्ति बुझाउनुपर्नेछ।



















