प्रधानमन्त्री वा मन्त्रिलाई सुरक्षा खतरा छ भनिनु हामी सबैको हार हैन ?
देउजा राधाकृष्ण
न्यु योर्क अमेरिका/ देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन आउने प्रधानमन्त्री वा मन्त्रीहरू सँग निजी वा दलीय विमति हुन सक्छन् तर ती असन्तुष्टि र विमतिलाई थाँती राखेर वहाँहरूको सक्दा औपचारिक नै सही सम्मान र सत्कार गर्ने नसक्दा पनि कमसेकम अनादर अपमान र दुर्व्यवहार नगर्ने हाम्रो आम प्रतिबद्धता हुनुपर्छ ।
सबै भन्दा पहिला हामी नेपाली हौँ र हाम्रो संस्कार भनेको अपमान अनादर र दुर्व्यवहारको हुँदै हैन तर पनि फेरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आउनु भएका प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाको सम्मान र स्वागतार्थ आयोजना गरिएको कार्यक्रम सुरक्षाको कारण देखाएर अन्तिम अवस्थामा स्थगित भएको खबरले दुख लागेको छ ।
दुनियाँलाई थाहा छ कि केही समय यता म स्वयम प्रधानमन्त्री केपी ओलीको निरन्तर आलोचक रहँदै आएको छु । वहाँको असंवैधानिक सोच अनि वहाँको वरिपरि रहेर भ्रष्टाचार र अनैतिकतालाई प्रशय दिने कोठरीको गतिविधि प्रति असन्तुष्टि अझै छ र वहाँहरू सच्ची हाल्ने देखिन्न , त्यसैले आलोचना पनि निरन्तर रहन्छ नै तर त्यसको मतलब वहाँहरूलाई जहाँ देख्यो त्यहीँ सराप्ने वा अपमान गर्ने भन्ने हुनै सक्दैन ।
त्यसैले गर्दा देशको कार्यकारी प्रमुखको भ्रमण सफल रहोस् भन्ने मनोकामना राख्दै आफू आफ्नै धुनमा रहेको थिएँ तर जब प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागत र सम्मानको लागि भनेर आयोजना गरिएको कार्यक्रम स्थगनको खबर सुने तब अत्यन्त दुखित भएँ ।
हुन त त्यो कार्यक्रमको आयोजनाको विषयमा छलफल गर्दै गर्दा नै सङ्कीर्णता र सानो चित्त प्रकट भएको विषयमा केही साथीहरू बाट गुनासो सुनेको थिएँ । त्यसो हुँदै गर्दा पनि भनेको थिएँ मात्रै हैन साङ्केतिक रूपमा लेखेको पनि थिएँ कि स्थानीय आयोजकहरूको सङ्कीर्णताको कारण सृजित आक्रोशको सिकार कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूलाई देखाइनु हुँदैन ।
हुन त कार्यक्रम हुनु अगावै कथित सुरक्षा संवेदनशीलता भन्दै कार्यक्रम स्थगन गरिएकोले साँच्चैमा प्रधानमन्त्री वा परराष्ट्र मन्त्री माथि दुर्व्यवहार हुन्थ्यो वा हुन्थ्यो भनेर ठोकुवा गर्न सक्ने कुरै भएन । यद्यपि म मातृभूमि नेपालमा जन्मेको र नेपालीहरूको संस्कार देखेको बुझेको र त्यही सिक्दै हुर्केको नेपाली हुनुको नाताले गर्दा यो मान्न सक्दिन कि नेपालीहरू बाट प्रवासको भूमिमा प्रधानमन्त्री वा परराष्ट्र मन्त्री प्रति अनादर वा दुर्व्यवहार हुन्थ्यो ! हुन सक्थ्यो होला केही व्यक्तिहरूले केही हर्कत गर्न खोज्थे होलान् , त्यो त छिटपुट जता पनि हुन्छ नि ।
स्वयम प्रधानमन्त्री सहभागी वहाँकै दलको कार्यक्रमको दौरान सुदूरपश्चिममा भीम रावल खोज्दै प्रधानमन्त्री विरुद्ध नाराबाजी भएको हैन र ? यहाँ पनि त्यस्तो एकाध स्वरहरू आउँथ्यो होला तर यति जरुर भन्न सकिन्छ कि त्यसरी प्रवासमा आएको प्रधानमन्त्री वा मन्त्री विरुद्धको आवाज भन्दा शिष्ट भद्र र सुसंस्कारी बोली नै हाबी हुने थियो ।
खैर जे होस,
नेपालको प्रधानमन्त्रीले प्रवासमा आफ्नै समुदायको कार्यक्रममा सुरक्षा खतरा महशुस गरेको भाष्य स्थापित गर्दै देशकै शिर निहुरिने काम भएको छ र यो दुखद छ । यसले हामी सबैको शिर निहुरिएको छ ।
आशा गरौँ नेपालको प्रधानमन्त्रीले ( जोसुकै प्रधानमन्त्रीले होस) प्रवासको भूमिमा आफ्नै देश बाट आएका दाजुभाइ बाट सुरक्षा खतरा छ भन्ने सुन्न र त्यो सुनुवाइको जगमा बदनाम हुन नपरोस् । देशको प्रधानमन्त्रीको अपमान हुने र हामी सम्मानित हुने भन्ने चाहिँ अलिक हजम हुँदैन है ।