प्रवासमा हुर्कीएका बालबालिकाहरूले कसरी आफ्नो भाषा र दर्शन छिटो सिक्न सक्छन् ?
भोजबहादुर बलायर
युवा नेपालीहरूको ठुलो जनसङ्ख्या नब्बेको दशक पछि प्रवासमा छ । अमेरिकाको मात्र कुरा गर्ने हो भने करिब तीन लाख नेपालीहरूको बसोबास गरी रहेको अनुमान गरिएको छ । अमेरिकी आँकडा हेर्ने हो भने एशियन मूलको जनसङ्ख्या वृद्धिदर १.६% को हाराहारीमा छ । जसले बालबालिकाहरूको जनसङ्ख्या उल्लेख्य मात्रामा रहेको स्पष्ट देखिन्छ ।
एकातिर नेपालीमूलका बालबालिकाको जनसङ्ख्या बढ्दो छ भने अर्को तर्फ नेपालले सक्षम देश निर्माणका कर्णधारको संख्या गुमाई रहेको छ । अहिलेको विश्वव्यापीकरण र सञ्चार प्रविधिले मानवलाई विश्व बजार रोज्ने जो कोहीलाई अवसर दिएको छ । यो मानवीय स्थानान्तरणको एक स्वाभाविक प्रक्रिया पनि बनी सकेको छ ।
यसैको प्रभावबाट २१औँ शताद्विको ग्लोबल भिलेजमा हराएका अल्पसंख्यक हामीले हाम्रो पहिचान कसरी जोगाउने भन्ने आफैमा चुनौतीपूर्ण छ । साथै हाल प्रवासमा हुर्की रहेका युवा जनशक्तिलाई भोलीका दिनमा मातृभूमिमा कसरी जोड्ने, कसरी फर्काउने र आफ्नो वंशजको जरोसँग कसरी नजिक रहने भन्ने अर्को ठुलो चुनौती देखिएको छ ।
यी चुनौतीको सामना गर्ने हिम्मत सम्म राख्न नसकेको भुटानको पिडा पुरै प्रवासी बनेको छ । बर्मा र थाईलेण्डमा बसोबास गर्ने नेपालीमूलका हुन वा भारतमा बसेका, हरेक सँग कसरी पूर्वजसँग जोडिने र आफ्ना सन्ततिलाई जोडेर राख्ने भन्ने ठुलो चिन्ता छ । भने पहिचानबाट टाढिँदै अरू कै संस्कारमा घुलित पश्चिमा देशमा हुर्की रहेकाहरू नानीबाबुहरूको आफ्नै पिडा भोलीका दिनमा झनै सकसपूर्ण हुने देखिन्छ ।
अर्को तर्फ मातृभूमिमा रहेका बुढेसकालका हजुरबा हजुरआमाहरूलाई आफ्ना सन्ततिसँगको सामिप्यता र मायाले पोली रहेको छ । वहाँहरू नत प्रवासमा लामो समय बस्न सक्नु हुन्छ । न त नाति-नातीनाहरुसँग दिल खोलेर कुरा नै गर्न सक्नु हुन्छ । यो हुनुको कारणमा भाषाले बार लगाई दिएको छ । नानीबाबुहरूको नयाँ परिवेश र नयाँ दुनियाँ तगारो बनेको छ । यसको सानो तथ्यको साछी बसेको सानो कथाको सार यहाँ राख्न चाहन्छु:
एक जना मित्रले हजुरआमाको काखमा रमाएकी सानी नानीलाई अमेरिका ल्याए । सुरुका दिनमा उनलाई पिजा बर्गरको स्वादभन्दा हजुरआमाको हातको भात नै मिठो थियो रे । भूगोल छुटे पनि हजुरआमाको माया बिर्सन नसकेर हजुरआमाको रङ्ग देखिनेलाई जो कोहीलाई उनी हजुरआमा भनेर बोलाउँथिन रे । हजुरआमा जस्तै देखिनेलाई गर्लम्म अँगालो हाल्थिन रे । रुँदै हजुरआमा भन्थिन रे । यो देखावटी नभएर एक अबोध बालीकाको साँचो माया थियो । जो हाम्रो दर्शनमा हजुरबा हजुरआमाबाट नानीहरूले पाउन्छन । यो हाम्रो दर्शनको जिउने र लालावाला हुर्काउने संस्कारको उपज थियो । यसबाट हाम्रो परिवारको संरचना, हामीले खोजेको सही माया र ममताको स्वरूप बोलेको भन्ने लाग्छ ।
यतिका अगाध माया बोकेको कलेजीको टुक्रा भेट्न औला गनेर बसेकी हजुरआमाले नातिनी भेट्न चार वर्ष पछि भिसा पाएको दिन हजुरआमाको खुशीको सीमा थिएन रे । हजुरआमा त्यही पुरानो माया संस्कार सम्झेर अमेरिका आउनु भो तर यता अमेरिकाको चार वर्षै हावाले नातिनी फरक भैसकेको कथा हजुरआमाले सुनाउनु भो । जुन कथा हरेक घरले ब्यहोरेको पिडादायी कथा हुन सक्छ । हजुरबुबा हजुरआमाहरू हाम्रा नातिनातिनाले हाम्रो बोली बुझुन्, हामीसँग कुरा गरुन् भन्ने हुन्छ । उनलाई चाहना छ नातिनीले हजुरबा आमा भनोस्, उनलाई चाहना छ नातिनीले पहिले झैँ हातले खुवाएको खाई दिए हुन्थ्यो । त्यो पनि नभए चम्चाले खुवाएको खाई दिए हुन्थ्यो । त्यो पनि नभए एउटै टेबुलमा बसेर खाइदिए हुन्थ्यो । त्यो पनि नभए खाँदा ट्याब्लेट र फोन नहेरेर कुरा गर्दै खाई दिए हुन्थ्यो भन्ने । तर अमेरिकी परिबेसमा हर्केका नानीबाबुहरुले उनका हजुरबा हजुरआमाका चाहना पुरा गर्ने सकेन । जुन कुराहरू हजुरआमाको भित्री दुखको सार थियो ।
नानीबाबुहरूका बुवा आमाहरूको पाश्चात्य बाल हुर्काई मन नपरेकी हजुरआमालाई असहज महसुस हुनु स्वाभाविकै थियो । फरक परिवेश र फरक हुर्काइबाट हुर्किरहेकी नातिनीको स्वभाव देखेर र तिनका बा आमाले सिकाएको नेपालीपन देखेर हजुरआमालाई अमेरिकाको बसाई पट्यार लागेर आयो । छ महिनाको भिसामा आउनु भएकी हजुरआमा एक महिना नै काट्न गाह्रो भई नेपाल फर्किनु भयो ।
यो कुनै कथा होइन । नेपालीको प्रवासको रहेको एक थरी समाजको अहिलेको ऐना हो । नेपालसँग हाम्रा पुस्तालाई यदि जोड्न सकेनौ भने हामीले मातृभूमि भनेर जप्ने र भन्ने गरेका वाणी केवल खोक्रा भाषण हुन भन्ने चरितार्थ हो । यो कथा नै नेपाली भाषा कला संस्कृतिलाई मनै देखि नजोडिएका हाम्रा मम्मी-ड्याड पुस्तालाई नेपाली अधिकार सहितको नागरिकताको कुनै तुक छैन भन्ने गतिलो प्रमाण हो । नेपाली नागरिकताको निरन्तरता भनेर कुर्लने आवाजसँग खोजेको जवाफ हो । हो, हामीले हाम्रो अधिकार पाउनु पर्छ । तर के हाम्रा नानीबाबु पनि माथिको सत्य घट्नाका साछी छन् । यदि साछी छन् भने पहिले उनीहरूलाई हाम्रो देव नागरिक लिपी र दर्शन सिकाऔँ । नेपाल पढाऔँ । नेपाल चिनाऔँ नेपाली बनाऔँ । अनि अधिकारको लडाई लड्न हामीलाई कसैले रोक्दैन ।
यसका लागी नेपाली भाषा पहिलो प्राथमिकतामा पर्छ । जुन भाषाको नाम नै ‘देव’ अथवा देवताको भाषा भन्ने बुझिन्छ । संसारमा यस किसिमबाट जोडिएका कमै अलौकिक भाषा होलान् तर हामी हाम्रो भाषिक पहिचानबाट नानीबाबुहरुलाई टाढा धकेल्दै छौ । हामी घरबाट नेपाली कला, संस्कार, संस्कृतिको प्रशिक्षण दिनुको सट्टा व्यस्तताको बजारमा अरू कै समाजमा घुलिँदै छौ । हाम्रा हजुरबा हजुर आमासँग नानीबाबुहरुलाई नियमित सम्पर्क गराउन सकेका छैनौ । हाम्रो घरले नेपाली भाषाबाटै नेपाल पढाउन सक्नु पर्ने हो, “न” भन्ने अक्षरबाट नेपाल र नमस्ते सिकाउन सक्नु पर्ने हो “ह” वाट हजुरबुबा हजुरआमा … र यस्तै सिकाउनु पर्ने हो तर हाम्रो बेफुर्सदको बहनाले सकाप बनाइ दिएको छ ।
यदि हामी साँच्चै नेपाली मूलको हाम्रो पुस्ता तयार गर्ने हो भने केही समय फुर्सद निकालौँ । घरमा कनीकुथी नानीबाबुसँग अङ्ग्रेजी हैन नेपाली बोलौँ । नेपालमय घर बनाऔँ । अधिकार लिन हाम्रो कर्तव्यको पालना गरौँ । जसका लागी अमेरिकाको शिक्षा विभागले समेत ग्लोबल भिलेजमा पहिचान बचाउन निम्नानुसारका केही सुझाव दिएको छ, सके सम्म पालना गरौँ
घरमा नानीबाबुहरू सँग नेपालीमा मात्र कुरा गरौँ र नेपाली बोल्न उत्प्रेरणा जगाऔँ ।
तपाईँले बाल्यकालमा सुनेका कथाहरू नानीबाबुलाई सुनाउनुहोस् । साथै राती सुत्ने समय भन्दा अघि वा तपाईँको बिदाको दिनमा बालबालिकाको लागी केही समय निकाल्नु होस र नेपाली सजिला वाल गीत, वाल कथा, हजुरबा हजुरआमाका कथा सुनाउनु होस।
नेपाली स-साना किताबहरू पढ्ने पढाउने बानी बसालौँ । सके सम्म दिनमा नभए हप्तामा केही समय छुटाएर बाबुनानीहरुसँगै किताब पढ्नु होस र उनीहरूलाई सुनाउनु होस साथै उनीहरूलाई पनि पढ्न लगाउनुहोस् । सकेसम्म कथा, लोक भाका, बाल गीतको पारामा सुनाएर सिकाउनु होस ।
नजिकको लाइब्रेरीमा नेपाली भाषाका पुस्तक छन् भने ल्याउनुहोस् । नत्र किनेर भए पनि ल्याएर घरमा सानो मिनी लाइब्रेरी बनाई । दैनिक केही समय नेपाली लाईब्रेरीकालागी छुट्याउनुहोस ।
म को हुँ भन्ने पहिचान सिकाउनुहोस् । आफ्नो खानपिन, पहिरन, संस्कार, संस्कृतिको पहिचान, इतिहास र पुर्खाका बारेमा जानकारी दिनु होस ।
के तपाईँको समुदायमा बालबालिकालाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम भइरहेका छन् । जस्तै नेपाली भाषा कक्षा, नृत्य, सामाजिक कार्यक्रम … आदी । ती बारे जानकारी राखी नियमित रूपमा बालबालिकाहरूलाई सहभागी गराउनुहोस् ।
बालाबालिकाहरु जबसम्म युवा हुदैनन र नेपाली भाषा, कला आदीको बारेमा जानकारी सहित तपाईँले सिकाउन चुटाउनु हुँदैन । साथै उनीहरूको घरको बोलीचालीको भाषाको माध्यम नेपाली वा तापलाईको मातृभाषा बनाउनु पर्ने हुन्छ ।
बालबालिकाको शब्द भण्डार विकास र नेपालमा रहेका आफन्तसँग सम्बन्ध स्थापित गर्न नेपालमा भएका हजुरबा हजुरआमा र आफन्तसँग नियमित वा हप्तामा एक दिन कुराकानी गराउनु होस । हजुरबा हजुरआमाका पुराना कथा सुन्ने र छलफल गराउने गर्नुहोस् ।
आफ्नो भाषा, कला, संस्कृति… आदी प्रति गर्व गर्नुहोस् भन्ने भावनाले उनीहरूलाई सदैव उत्प्रेरणा जगाउनु होस | भाषा, कला … सिक्न हौसला दिई गर्व गर्न सिकाउनुहोस् ।
अन्त्यमा: बहु भाषा सिकाई बाट फाइदा के छ भन्ने कुराको हामीमा जानकारी नहुँदा पनि धेरै अविभावकहरुले आफ्नो भाषा सिकाउने काममा ब्यवास्ता गरेको पाइन्छ । तर बहु भाषा सिकाई बाट बालबालिकाहरूमा धेरै फाइदा हुने देखिन्छ । जसका लागी हालसम्म गरिएका अनुसन्धानले देखाए अनुसार बहुभाषीहरुको दिमाग सधैँ सक्रिय भएर अभ्यस्त हुने र बोल्दा एक भाषाबाट अर्को भाषा बोल्दा दिमागले नायव स्विच गर्नु पर्ने हुँदा सदैव दिमाग सक्रिय हुन्छ ।
यसको फलस्वरुप दिमागमा बहु भाषाको लचकताले अल्जाइमर जस्ता रोग लाग्नबाट बचाउँछ । यसको दोस्रो फाइदा भनेको बहुभाषीहरु सजिलैसँग जुनसुकै समाजमा पनि घुलमिल हुन सक्ने क्षमता राख्दछन् जसले उनीहरूको मनोसामाजिक सीपहरू सधैँ उच्च रहन्छ । यसको अर्को फाइदा भनेको बहुभाषीहरु बढी श्रृजनशील, विश्लेषणात्मक सोचाई भएका, समस्या समाधान र निर्णय गर्न सक्ने क्षमता तथा उच्च स्मरण शक्तिको हुने र स्व- नियन्त्रित गर्न सक्ने हुँदा अरूभन्दा बढी रोजगारीका अवसरहरू र समाजमा उच्च प्रतिष्ठा प्राप्त गर्न सक्छन् ।
अनुसन्धानका पाटाहरूलाई हेर्ने हो भने अमेरिका जस्तो खुला समाजमा हुर्केका हाम्रा नानीबाबुलाई विश्व परिवेशसँगै आफ्नो परिवेश सिकाउन हामीले कन्जुस्याइँ गर्नु हुन्न । तर भाषा सिक्न नानीबाबुहरू सुरुमा आफै तत्पर भने हुदैनन । यसको लागी अभिभावकले उत्प्रेरणा जरुरी छ ।