धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालनमा आउने
काठमाडौं। सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो। धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ।
२०७२ सालको विनाशकारी भूकम्पले धरहरालाई क्षति पुर्याएको थियो। भत्किनुअघि संघीय सरकारले धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिएको थियो, जसले निजी कम्पनीलाई ठेक्कामा दिएको थियो। तर बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी अघिका सबै निर्णय खारेज गरेको हो।
नवनिर्मित धरहरा बाहिरबाट पुरानै ११ तलाको डिजाइनमा देखिए पनि यसको भित्री संरचना २२ तलाको छ। धरहराको उचाइ जमिनबाट ८३.५८ मिटर रहेको छ। १९९० सालको भूकम्पअघिको धरहरा ११ तलाको भए पनि, भूकम्पपछि २ तला भत्किएर धरहरा ९ तलामा सीमित भएको थियो।
नेपालले अमेरिकामा क्रिकेट खेल्ने मिति र ठाउँ सार्वजनिक
अब नवनिर्मित धरहरामा दुईवटा लिफ्ट जडान गरिएको छ, जसले पर्यटकलाई धरहरा चढ्न सजिलो बनाउनेछ। भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ।
साथै, धरहराको टावरमुनि तीन तले भूमिगत पार्किङ, प्रशासनिक भवन, र संग्रहालयसमेत निर्माण भइरहेको छ, जसले धरहरालाई ऐतिहासिक र पर्यटकीय रूपमा थप महत्त्वपूर्ण बनाउनेछ।