कथा: आफ्नै गन्तव्य
पहाडको छाती चिरेर एउटा नदी बगिरहेको थियो। उसको शिरमा हिमालको शीतल स्पर्श थियो र आँखामा समुद्र भेट्ने अनन्त सपना। बाटोमा अनेकौँ ढुङ्गा थिए, भिर थिए, उकालीओराली थिए; तर नदीसँग न कुनै गुनासो थियो, न कुनै हतार।
एक दिन उसले अर्को नदी भेट्यो। त्यो वेगको उन्मादमा थियो। आफ्नै छालहरूको ताली बजाउँदै उसले सोध्यो, “तिमी यति सुस्त किन? हेर, म तिमीलाई उछिनेर धेरै अघि पुगिसकेँ। तिम्रो यो मन्थर यात्राले तिमीलाई कहाँ पुर्याउला र?”
सानो नदीले केही बोलेन। केवल आफ्नो छातीमा आकाशको नीलो प्रतिबिम्ब बोकेर बगिरह्यो।
उसलाई थाहा थियो। हरेक यात्राको आफ्नै लय हुन्छ, हरेक बाटोको आफ्नै व्याकरण। कसैको वेगमा आफ्नो गति खोज्नु भनेको आफ्नै अस्तित्वको छाया हराउनु हो।
बाटोमा चट्टानहरू उभिए। नदीले तिनलाई शत्रु ठानेन । तिनकै काखबाट आफ्नो बाटो बनायो। पहिरोले उसको धार छेक्यो, उसले धैर्यको बाटो रोज्यो। घामले पानी सुकाउन खोज्यो, उसले बादलसँग मित्रता गाँस्यो। ऊ न कसैसँग प्रतिस्पर्धा गर्यो, न आफ्नो यात्रालाई अरूको आँखाले नाप्यो।
उता तीव्र वेगको नदी भने प्रत्येक मोडमा आफूभन्दा अघि बग्ने धार खोज्दै थियो। अरूलाई उछिन्न खोज्दाखोज्दै उसले आफ्नै किनार भत्कायो, आफ्नै गहिराइ बिर्सियो। वेग त थियो, तर दिशाप्रतिको धैर्य थिएन।
समयले दुवैलाई आआफ्नै पाठ पढायो।
एउटा साँझ, अस्ताउँदो सूर्यले क्षितिजमा सुनौलो रङ पोतिरहेका बेला सानो नदी समुद्रको असीम अँगालोमा पुग्यो। त्यहाँ न जितको घोषणा थियो, न पराजयको पीडा। केवल पूर्णताको एउटा मौन अनुभूति थियो।
किनारमा उभिएको एक यात्री नदीको यात्रा हेरिरहेको थियो। उसको जीवन पनि अरूका सफलताका उचाइ नाप्दानाप्दै थाकेको थियो। उसले अरूका शिखर देखेर आफ्ना पाइलालाई सानो ठानेको थियो; अरूका उज्याला अनुहारसँग आफ्नो अँध्यारो तुलना गर्दागर्दै आफ्नै आँखाभित्रको दीप बिर्सेको थियो।
नदीलाई समुद्रमा विलीन भएको देखेपछि उसले पहिलोपटक आफ्नै मनको आवाज सुन्यो।
उसले बुझ्यो। जीवन कुनै दौडको मैदान होइन, जहाँ अरूलाई पछाडि छोडेपछि मात्र आफू अघि बढेको प्रमाणित हुन्छ। जीवन त एउटा यात्रा हो, जहाँ आफ्नै सत्य पहिचान गर्नु, आफ्नै घाउ बोकेर हिँड्नु र आफ्नै सपनासम्म पुग्नु नै सबैभन्दा ठुलो उपलब्धि हो।
उसले क्षितिजतिर हेर्यो। त्यहाँ कुनै पदचिह्न थिएनन्, कुनै तयार बाटो थिएन। केवल सम्भावनाको अनन्त आकाश थियो।
उसले आफ्ना पाइलाहरू अघि बढायो।
अब उसलाई कसैको शिखरले लोभ्याउँदैनथ्यो, कसैको उचाइले होच्याउँदैनथ्यो। उसले आफ्नो यात्रालाई अरूको सफलताको तराजुमा जोख्न छाडिसकेको थियो। किनकि उसले बुझिसकेको थियो। आफ्नो गन्तव्य भेट्न अरूको बाटो जितिरहनु पर्दैन।
उसको यात्रा अझै लामो थियो। बाटोमा काँडा पनि थिए, अँध्यारा पनि। तर अब ऊ हरेक अवरोधसँग डराउँदैनथ्यो, न हरेक मोडमा आफ्नै निर्णयमाथि शङ्का गर्थ्यो।
उसको मनमा एउटा वाक्य नदीको मधुर सङ्गीतझैँ गुञ्जिरह्यो, “मलाई जित्नु छैन, उछिन्नु छैन। म कसैको उचाइ नापेर आफ्नो आकाश सानो बनाउँदिनँ। म त आफ्नै विश्वासको उज्यालो बोकेर, आफ्नै सपनाको क्षितिजतिर, आफ्नै गन्तव्यमा लम्किरहन्छु।”
र ऊ हिँडिरह्यो। न कसैको तालीको प्रतीक्षामा, न कसैलाई आफ्नो सामर्थ्य प्रमाणित गर्न।
केवल आफूभित्रको सत्यप्रति निष्ठावान् भएर।किनकि कहिलेकाहीँ जीवनको सबैभन्दा सुन्दर विजय भनेकै अरूलाई पराजित गर्नु होइन, आफू को हुँ भन्ने नबिर्सी आफ्नो बाटोमा निरन्तर हिँडिरहनु हो।
नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका



















