नेपाल र जापानबीच संयुक्त लगानी सम्झौता
काठमाडौँ। नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज सम्झौतामा हस्ताक्षर गरिएको छ। यो सम्झौताले नेपालमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिने सरकारको प्रतिबद्धता प्रकट गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्झौतामा आफ्नो सम्बोधनमा भने, “नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको छ। हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार तयार छ।” उनले यो सम्झौताले नेपाल र जापानबीच प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवात गरेको बताउँदै, “यो सम्झौताले केवल व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैन, यसले नेपाल र जापानबीच पुल निर्माण गर्दैछ। प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्ष जेल सजाय
सम्झौतामा आइजिसी बिजनेस होल्डिङ नेपालका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेड जापानका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीईओ) सतोशी सातोले हस्ताक्षर गरेका छन्। दुवै पक्षले नेपालको डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनलाई अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामाले, “आजको सम्झौतापत्रमा हस्ताक्षरले नेपाल र जापानबीच सहकार्य, विकास र साझा दृष्टिकोणको यात्रा भएको छ। यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनमा सहकार्य गर्न सहयोग पुर्याउनेछ” भने।
आरके शर्मा समूहको निवेदनको पहिलो सुनुवाई भएन
केइरिनकनका अध्यक्ष तथा सीईओ श्री सतोशी सातोले, “यस संयुक्त लगानीप्रति म अत्यन्त उत्साहित छु। यो सहकार्यले नेपाल र जापानबीचको व्यापारिक सम्बन्ध मात्र नभई द्विपक्षीय सम्बन्धलाई पनि बलियो बनाउनेछ। हामी नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छामा छौं” भने।
सम्झौताले नेपाली सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीको नयाँ चरणमा प्रवेश गराउन महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। यसले नेपालको डिजिटल क्षेत्रको विकासमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ, जसले आर्थिक वृद्धि र रोजगार सिर्जनामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।