एलन मस्कको घोषणा साइबरट्रक उत्पादन घटाउँने
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले ‘साइबरट्रक’ को उत्पादन अर्को वर्षदेखि घटाउँदै लैजाने भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले सन् २०२७ को मध्यतिरदेखि यसको उत्पादन बन्द गर्ने तयारी भइरहेको घोषणा गरेका छन्।
मस्कले सामाजिक सञ्जालमा लेख्दै टेक्सासस्थित टेस्लाको गिगाफ्याक्ट्रीमा साइबरट्रकको उत्पादन सन् २०२७ को मध्यतिरबाट घटाउँदै बन्द गरिने र त्यसको सट्टा ‘साइबरक्याब’ उत्पादन बढाइने जानकारी दिएका हुन्। साइबरट्रक उत्पादन भइरहेको टेस्लाको एक मात्र कारखाना टेक्सासमा छ।
विशेष प्रकारको स्टेनलेस स्टिलबाट निर्माण गरिएको र परम्परागत पिकअप ट्रकभन्दा बिल्कुलै फरक कोणीय बनावट भएको साइबरट्रक सार्वजनिक हुँदा निकै चर्चामा आएको थियो। तर, ठूलो प्रचार र प्रारम्भिक उत्साहका बाबजुद यसले अपेक्षित संख्यामा ग्राहक आकर्षित गर्न सकेन।
बजारमा आएदेखि नै यसको बिक्री घट्दै गएको तथ्यांकले देखाउँछ। टेस्लाले आफ्ना विभिन्न मोडलको बिक्री छुट्टाछुट्टै सार्वजनिक नगर्ने भए पनि केली ब्लु बुकको अनुमानअनुसार सन् २०२५ मा साइबरट्रकको बिक्री अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशत घटेको थियो। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म पनि यसको बिक्री थप २८ प्रतिशत घटेको छ।
साइबरट्रकको कमजोर बजार प्रदर्शनमा यसको असामान्य डिजाइनसँगै गुणस्तरसम्बन्धी समस्याले पनि प्रभाव पारेको विश्लेषण गरिएको छ। सार्वजनिक भएको केही महिनाभित्रै यसमा विभिन्न समस्या देखिएपछि पटक–पटक सवारी साधन फिर्ता बोलाउनुपरेको थियो।
मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकिएर दक्षिणपन्थी राजनीतिक अभियान र मुद्दाहरूको समर्थनमा सक्रिय भएपछि टेस्ला र विशेषगरी साइबरट्रक अमेरिकी तथा युरोपेली राजनीतिक ध्रुवीकरणको विषयसमेत बनेको थियो।


















