नेपालले अमेरिका र क्यानडामा खेल्न लागेको लिग-२ क्रिकेट कस्तो प्रतियोगिता हो?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम फेरि अमेरिका आउदै छ। गत जुनमा आइसीसी टि ट्वान्टी विश्व कप क्रिकेट खेलेको नेपाली टिम एकै वर्षमा दोस्रो पटक अमेरिका आउन लागेको हो।
विश्व कपको समयमा नेपाली क्रिकेट टिमले अमेरिकाभरीबाट व्यापक समर्थन पाएको थियो। अमेरिका आउनु अगाडि राष्ट्रिय क्रिकेट टिमले क्यानडामा खेल्ने छन्।
यस पटक नेपाल लिग -२ खेल्न क्यानडा र अमेरिका आउन लागेको हो।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२४ देखि २०२६ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछन्। यी सिरिजको प्रतियोगितालाई आइसिसीले आइसिसी विश्वकप लिग-२ को नाम दिएको छ। लिग-२ आइसिसी एकदिवसीय विश्वकप २०२४ को छनोटको आधार समेत हो।
तीन वर्ष चल्ने लिग-२ को पहिलो सिरिज नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिसकेको छ। गत फेब्रअरीमा भएको पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदा नेपालले आफ्ना चारमध्ये तीन खेलमा हार बेहोरेको थियो।
पहिलो सिरिजमा निराशाजनक प्रदर्शन गरेपछि नेपालले दोस्रो र तेस्रो सिरिजका लागि क्यानडा र अमेरिका भ्रमण गर्दैछ।
क्यानडा हुने सिरिजमा १६ सेप्टेम्बरदेखि ओन्टेरियामा हुनेछ। सिरिजमा नेपाल, ओमान र घरेलु टोली क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ। एकदिवसीय सिरिज लगत्तै तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।
क्यानडा भ्रमण सकेपछि नेपाली टोली अक्टोबर दोस्रो साता अमेरिका आउने छ। अमेरिकामा हुने सिरिजको मिति र स्थान औपचारिक रुपमा घोषणा हुन बाँकी छ। अमेरिका हुने लिग-२ को सिरिजमा नेपाल, स्कटल्यान्ड र अमेरिका भिड्नेछन्। यो सिरिज पछि पनि तीन टोलीबीच टी-२० सिरिज हुनेछ।
क्यानडामा नेपालले चार एकदिवसीय र चार टी-२० गरी आठ खेल खेल्नेछ। अमेरिकामा नै यति नै खेल हुनेछ। यसरी एक महिनाको बीचमा नेपालले एकदिवसीय र टी-२० गरी कुल १६ खेल खेल्नेछ।
आइसिसी-२ फर्म्याट
आइसिसी एकदिवसीय छनोट प्रतियोगिताको आधारको रुपमा रहेको लिग-२ मा तीन वर्षमा आठ टिमले नौं-नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ। लिग-२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।
आइसिसीको तालिका अनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ। प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन्।
तीन वर्षमा नौ सिरिज मध्ये तीन सिरिज घरेलु मैदानम खेल्दा छ सिरिजका लागि दोस्रो देशको भ्रमण गर्नु पर्नेछ।
यो वर्ष नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेपछि अमेरिका र क्यानडा भ्रमण गर्न लागेको हो।
नेपालले २०२५ र २०२६ मा पनि तीन तीन सिरिज खेल्ने तालिका छ।
आठ टिम मध्ये नेपाल नामिबियामा जानेछैन। यस्तै लिग-२ का लागि क्यानडाको टिम नेपाल भ्रमणमा आउनेछैन।
आठ टिमले कुल १४४ एकदिवसीय खेल खेलेपछि शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट शीर्ष चारमा पर्ने टोलीले पनि एकदिवसीय मान्यत पाउनेछन्।
नेपालको लिग २ खेल तालिका
फेब्रुअरी २०२४ : नेपाल-नामिबिया-नेदरल्यान्ड्स : नेपाल आयोजक
सेप्टेम्बर २०२४ : क्यानडा-नेपाल-ओमान : क्यानडा आयोजक
अक्टोबर २०२४ : अमेरिका-नेपाल-स्कटल्यान्ड : अमेरिका आयोजक
मे २०२५ : स्कटल्यान्ड-नेदरल्यान्ड्स- नेपाल : स्कटल्यान्ड आयोजक
अक्टोबर २०२५ : युएई -नेपाल-अमेरिका : युएई आयोजक
नोभेम्बर २०२५ : नेपाल-ओमान-युएई : नेपाल आयोजक
अगस्ट २०२६ : नेदरल्यान्ड्स-नेपाल- नामिबिया : नेदरल्यान्ड्स आयोजक
अक्टोबर २०२६ : ओमान-नेपाल-क्यानडा : ओमान आयोजक
नोभेम्बर २०२६ : नेपाल-स्कटल्यान्ड- अमेरिका : नेपाल आयोजक
प्रत्येक सिरिजमा नेपालले दुवै प्रतिद्वन्द्वीसँग दुई पटक प्रतिस्पर्धा गर्नेछ।
लिग-२ र डिभिजन लिगको इतिहास
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय विश्वकपको छनोटका लागि तीन वटा लिग सञ्चालन गर्दै आएको छ। सन् २०१९ देखि आइसिसीले चरणका लिग सञ्चालन गर्दै आएको हो।
आइसिसीका स्थायी मान्यता प्राप्त १२ टोलीले आइसिसी विश्वकप सुपर लिग (ओडिआई र्याङकिङ) खेल्ने गर्छन्।
यस्तै अस्थायी एकदिवसीय मान्यता प्राप्त ८ टोलीले आइसिसी विश्वकप लिग-२ मा प्रतिस्पर्धा गर्छन्। नेपालले पनि अस्थायी एकदिवसीय मान्यता प्राप्त टोली भएकाले नेपालले सन् २०१९ देखि लिग-२ खेल्दै आएको छ।
एकदिवसीय टिम बाहेका लागि भने आइसिसीले आइसिसी विश्वकप च्यालेन्ज लिग गर्दै आएको छ। च्यालेन्ज लिगमा खेल्न पनि आइसिसीले विभिन्न राष्ट्रबीच छनोट खेलाउने गरेको छ।
यसरी ३ तहको लिगबाट आइसिसीले विश्वकपका लागि टोली छनोट गर्छ। उदाहरणका लागि सन् २०२७ मा हुने एकदिवसीय विश्वकपबाट सुपर लिगबाट ८ टोली छनोट हुनेछन्। दुई टोली आयोजकको रुपमा छनोट हुनेछन्।
दक्षिण अफ्रिका र जिम्बावेमा हुने विश्वकपका लागि चार टोलीले भने विश्वकप छनोट खेलेर स्थान पक्का गर्नेछन्। चार स्थानका लागि विश्वकप छनोट प्रतियोगिता हुन्छ।
विश्वकप छनोटमा १० टोली भिड्नेछन्। सुपर लिगबाट २ टोली र लिग-२ बाट चार टोली पुग्नेछन्। बाँकी चार टोली च्यालेन्ज लिगका दुई र लिग-२ का टोलीबीच हुने प्लेअफबाट छानिनेछन्।
आइसिसी लिग-२ खेल्नुअघि नेपालले २०१५ देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो। तर नेपाल आठ टोली मध्ये सातौं स्थनमा रहदा आइसिसी विश्वकप डिभिजन-२ मा झरेको थियो।
२०१५ सम्म भने नेपालले आइसिसीले सञ्चालन गर्ने विभिन्न डिभिजन खेलेको थियो। डिभिजन फस्याटको लिग अहिले आइसिसीले सञ्चालन गर्दैन।
त्यसअघि नेपालले २०१५ को डिभिजन-२ मा चौथो भएको थियो। त्यसअघि नेपालले सन् २०१३ मा बर्मुडामा भएको आइसिसी विश्वकप क्रिकेट डिभिजन-३ जितेको थियो। जसका कारण नेपालले सन् २०१५ को विश्वकप छनोट खेल्न पाएको थियो।
त्यसअघि नेपालले २०१२ मा डिभिजन-४ जितेर डिभिजन-३ मा बढुवा भएको थियो। त्यसअघि कीर्तिपुस्थित त्रिवि मैदानमा भएको डिभिजन-५ जितेको नेपालले पहिलो पटक आइसिसीको प्रतियोगिता जितेको थियो। सो प्रतियोगिताको सेमिफाइनलमा नेपालले हार्न लागेपछि नेपाली दर्शकले मैदानमा ढुंगा प्रहार गर्दै हुलदंगा गरेका थिए। जसका कारण नेपाल रनरेटमा अघि रहदै फाइनलमा पुगेको थियो। फाइनल जितेर डिभिजन-४ मा पुगे पनि नेपालले सोहि वर्ष डिभिजन-४ मा राम्रो खेल्न सकेन र बढुवा भएन।
सन् २००८ मा पनि नेपालले डिभिजन-५ खेलेको थियो। तर निर्णायक खेलमा पराजय भोग्दा नेपाल डिभिजन-५ मा रहन परेको थियो।