कांग्रेस देउवा समूहको जनसम्पर्क समिति अमेरिका विस्तार, सञ्जीव श्रेष्ठ दुवैतिर
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेस देउवा समूहको नेपाली जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति विस्तार गरिएको छ । संयोजक प्रमोद सिटौलाले सोमवार आफ्नो नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेका हुन् ।
सिटौलालाई अक्टोबर १५ तारिखमा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले जनसम्पर्क समिति अमेरिकाको संयोजकमा मनोनयन गरेका थिए।
नेपाली कांग्रेसको १५ महाधिवेशन हालै काठमाडौंमा सम्पन्न नभइरहेको छ । जसमा गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । तर यस अगाडि १४ महाधिवेशनमा सभापति निर्वाचित शेर बहादुर देउवा सहित केही पदाधिकारीले सो महाधिवेशनको विरुद्धमा समानान्तर गतिविधि चलाउँदै आएका छन् ।
देउवा समूहले गत पुसमा सम्पन्न कांग्रेसको विषेश महाधिवेशनलाई अवैध भन्दै अदालत गएका थिए । विषेश महाधिवेशनले गगन थापालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो । थापाकै सभापतित्वमा नेपाली कांग्रेस आम चुनावमा होमिएको थियो ।
चुनावको समयमा सिंगापुर र हङकङ बसेमा देउवा ५ महिना श्रीमती र छोराबुहारी विदेशमै छोडी एक्लै नेपाल फर्किएका थिए । त्यही समयमा उनले विषेश महाधिवेशनलाई वैधता दिने सर्वोच्चको निर्णय त्रुटि पूर्ण भएको भन्दै फैसला पुनरावलोकनका लागि मुद्दा दायर गरेका थिए । साथै देउवाले गगन थापा सभापति रहेको कार्यसमितिले आयोजना गर्न लागेको १५ महाधिवेशन रोक्न माग समेत गरेका थिए ।
अदालतले फैसला पुनरावलोकन गरे पनि महाधिवेशन रोक्न कुनै आदेश दिएको थिएन । त्यस पछि नै नेपाली कांग्रेसको १५ महाधिवेशन भएको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै देउवा समूहले काठमाडौँ चुनदेवीमा कार्यालय स्थापना गरि समानान्तर गतिविधि शुरु गरेको हो।
त्यसै क्रममा देउवा समूहले नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेको थियो । सिटौलाले सोमवार आफ्नै समिति विस्तार गरेका हुन् ।
उपसंयोजकमा सञ्जीव श्रेष्ठ, सदस्य सचिवमा जितेन गुरुङ रहेका छन् । यस्तै सदस्यहरूमा भुवन आचार्य,राजु शाह,दिवाकर बागचन्द,इन्द्र सिटौला,सुमन वस्ती, शिव बानियाँ,सबिन बस्नेत,शिव मल्ल,रामबहादुर देउवा,अमृत ढकाल,श्याम यादव,विनोद शाह,दिपा बोहरा,कुशल नहर्पि,रोशन अधिकारी,दिपेन्द्र विष्ट,एकराज खड्का र भरत जोशी रहेका छन् ।
सञ्जीव श्रेष्ठ दुवैतिर
सिटौला समितिमा उपसंयोजकको जिम्मेवारी पाएका सञ्जीव श्रेष्ठ यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका व्यक्ति हुन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन गत अगस्ट १४ देखि १६ तारिखसम्म भर्जिनियामा भएको थियो। उक्त महाधिवेशनमा मुनीन्द्र नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए। उनले सीपी पौडेललाई पराजित गरेका थिए।
श्रेष्ठ दुईवटा समितिमा आबद्ध भएको विषयमा प्रश्न गर्दा उनले यसबारे आफूले कुनै प्रतिक्रिया नदिने बताए।
‘म दुवै तीर हो तर यस बारेमा म अहिले केही बोल्दिन।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा श्रेष्ठले भने । यस्तै सदस्य सचिव बनेका जितेन्द्र गुरुङ बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष हुन् ।
यसैबीच, संयोजक प्रमोद सिटौलाले छिट्टै भर्चुअल माध्यमबाट अधिवेशन गर्ने तयारी भइरहेको बताएका छन्। सोही अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरिने उनले समाज टाइम्सलाई बताए।
















