अमेरिकामा दशैँ: कतै मङ्गलवार टीका लगाइयो, कतै बुधवारको पर्खाइ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / बडा दशैँको टीका लगाउने दिनलाई लिएर यस वर्ष पनि अमेरिकामा फरक-फरक अभ्यास भएका छन् ।
अमेरिकामा कतिपय परिवारले मङ्गलवार नै दशैँको टीका लगाएर आशीर्वाद लिएका छन् भने कतिपयले बुधवार टीका लगाउने तयारी गरेका छन्।
नेपालमा पञ्चाङ्ग समितिले बुधवारलाई टीकाको दिन भनेको छ ।
नेपाली र अमेरिकी समयको भिन्नता तथा स्थानीय सूर्योदय र तिथिको गणनाका कारण अमेरिकाका विभिन्न राज्यमा कतिपयले मङ्गलवार नै टीका ग्रहण गरेको जनाएका छन् ।
अर्कोतर्फ, अमेरिकामा बस्ने नेपालीहरूको एउटा ठूलो हिस्साले भने परम्परागत रूपमा नेपालको समय र क्यालेन्डरलाई नै मुख्य आधार मान्दै आएको छ।
नेपालमा अक्टोबर २१ बुधवार का दिन विजयादशमी परेकाले “नेपालमा टीका सुरु नभई अमेरिकामा अघिल्लो दिन नै मनाउनु व्यावहारिक हुँदैन” भन्ने मत राख्नेहरू थुप्रै छन्।
यही सामाजिक र सांस्कृतिक मान्यताका कारण धेरैले मङ्गलवार व्रत र पूजापाठ मात्र सम्पन्न गरी बुधवार मात्र टीका लगाउने तयारी गरेका छन्।
दशैँलाई परिवारको जमघट, मान्यजनबाट टीका र जमरा ग्रहण तथा आपसी भेटघाटको अवसरका रूपमा मनाउँदै आएका छन्।
दशैँको अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने तथा परम्परागत संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउने क्रम जारी छ।
















