जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु
काठमाडौं। कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार, घोडाघोडी नगरपालिकामा ९ वर्षीय बालक र ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
जोशीले जिल्लामा थप चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन्। संक्रमितहरूमा गौरीगंगा, गोदावरी, र धनगढी उपमहानगरपालिकाका व्यक्तिहरू छन्। गौरीगंगामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय महिला, र धनगढीमा पाँचमहिने बालकमा संक्रमण देखिएको छ। गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
अन्य संक्रमितहरूको उपचार भइरहेको छ। जापानिज इन्सेफलाइटिस रोग पोथी क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने चिकित्सकहरूले बताएका छन्।