तीजले कलाकारहरू व्यस्त, देश विदेशका कार्यक्रममा मस्त
काठमाडौं । तीज पर्वको रौनक चढ्दै गर्दा नेपाली कलाकारहरू अत्यन्तै व्यस्त बनेका छन्। गत असारदेखि तीज गीतहरू सार्वजनिक गर्ने होडमा रहेका कलाकारहरू अहिले देश-विदेशका कार्यक्रममा सहभागिता जनाउँदै दौडधूपमा छन्।
आयोजकहरूले तीज पर्वका कार्यक्रमहरूमा महिला मात्र नभई पुरुष कलाकारलाई पनि समान महत्त्व दिएका छन्। यस पर्वले कलाकारहरूको लागि आम्दानीको महत्वपूर्ण अवसर सिर्जना गरेको छ। यो वर्ष मात्रै तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भएका छन्।
गायिका विष्णु माझीको “आइन आमा यो तीजमा…” गीतले युट्युबमा सार्वजनिक भएको १० दिनमा एक करोड १३ लाखभन्दा बढी पटक हेरिएको छ। यो गीत यस वर्ष युट्युबमा सबैभन्दा धेरै ‘भ्यूज’ पाउने तीज गीत बनेको छ।
एकातिर युट्युब ‘भ्यूज’का आधारमा कलाकारले आम्दानी गर्छन् भने अर्कोतिर तीज पर्वका मेला, उत्सवहरूमा प्रस्तुति दिएर पनि उनीहरूले राम्रो कमाइ गर्ने अवसर पाउँछन्। तीज पर्वको समयमा अधिकांश लोकगायक-गायिकाहरूले तीज गीतहरू सार्वजनिक गर्ने परम्परा स्थापित भएको छ। हाल विदेशमा रहेका नेपालीहरूले पनि तीजलाई उल्लासपूर्वक मनाउने परिपाटी बढ्दो छ। नेपालबाट चर्चित गायक-गायिका बोलाएर उनीहरू सँगसँगै नाचगान गर्छन् र रमाइलो गर्छन्।
गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर, र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर हाल अमेरिका भ्रमणमा छन्। करिब दुई महिने यात्राका क्रममा उनीहरूले अमेरिकाका २१ सहरमा तीज विशेष कार्यक्रम गर्ने योजना छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशहरूमा पनि तीज कार्यक्रमहरूको आयोजना भइरहेको छ। युरोप र अरब देशहरूमा रहेका नेपालीहरूले पनि तीज पर्वलाई विविध कार्यक्रमहरू गरेर मनाएका छन्।
गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किएका छन्। यसपटक तीज गीत “बिच्चबिच्चमा–७” सार्वजनिक गरेर चर्चामा आएका उनले एडिलेड र सिड्नीमा दुई कार्यक्रममा प्रस्तुति दिए। “अहिले तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिँदैछु,” उनले भने, “चाडपर्वका बेला कलाकारलाई व्यस्त बनाउने यस्तै कार्यक्रमले नै हो।”
गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजको दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिनेछन्। गायिका समीक्षा अधिकारी र गायक रामजी खाँडलगायत कलाकारहरू पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि जापानमा छन्। उनीहरूले नागोया, फुकोआकालगायत जापानका विभिन्न सहरमा प्रस्तुति दिनेछन्।
गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुगेका छन् भने गायिका लक्ष्मी मल्ल यतिबेला हङकङमा छन्। गायिका कोमल वली, देवी घर्ती, र गायक पशुपति शर्मा लगायतका कलाकारहरूले अष्ट्रेलियाका विभिन्न सहरमा तीजका अवसरमा प्रस्तुति दिइरहेका छन्। विदेश नपुगेका कलाकारहरू स्वदेशकै विभिन्न ठाउँमा कार्यक्रमहरूमा व्यस्त छन्।
बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली संघसंस्थाहरूले दिदीबहिनीहरूलाई बोलाएर दर खाने, शुभकामना आदानप्रदान गर्ने र तीज पर्व मनाउने गरेको बताए। “नेपालीहरू बस्ने अधिकांश सहरमा तीजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि बढ्दैछ,” उनले भने, “प्रवासमा रहेका महिलालाई तीज पर्वको न्यास्रो नलागोस् भनेर यस्ता कार्यक्रमहरू गर्ने गरिएको हो।”