सरकारको निर्णयमा चिकित्सक संघको विरोध
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने सरकारी निर्णयलाई अव्यवहारिक र अवैज्ञानिक भनेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै अस्पतालबाट बहिरंग सेवा (ओपीडी) समेत अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो।
एनएमएले उक्त निर्णयले स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाएको छ।
महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा, यो निर्णयले स्वास्थ्यकर्मीहरूलाई अनावश्यक भार परेको र मानवताको दृष्टिकोणले पनि यो अव्यवहारिक भएको उल्लेख छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठनले हप्ताको ४० घण्टा काम गर्नुपर्ने समय सीमा तोकेको भए पनि चिकित्सकहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म काम गर्न बाध्य रहेको बताइएको छ।
२०७२ को भूकम्प र कोभिड-१९ महामारीका समयमा स्वास्थ्यकर्मीहरूले अत्यन्त न्यून सुविधामा पनि निरन्तर काम गरेको स्मरण गराउँदै, एनएमएले यो निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ।