बालन लेख्छन् ‘पोस्ट उडाउने हैन, दोषी समाउ…’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पुनः केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आक्रामक भएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै बालेनले आफू गलत भए आफूलाई पक्राउ गर्न चेतावनी दिएका छन्। अन्यथा दोषीलाई समात्न सरकारलाई चुनौती दिएका छन्।
बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीलाई तुरुन्त कारबाही गर्न आग्रह गरेका थिए। तर, यो पोस्ट मंगलबार बिहान सामाजिक सञ्जालबाट गायब भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला बालनको पछिल्लो पोस्ट आएको हो।
बालेनको सचिवालयले सो पोस्ट बालेनले हटाएको नभई कसैले रिपोर्ट गरेका कारण फेसबुकले हटाएको स्पष्ट गरेको छ। बालेनका स्वकीय सचिव भूपदेव शाहले फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएको भन्दै पोस्ट हटाएको र यो विषयलाई फेसबुकले सही रूपमा नबुझेको बताउँदै, उक्त पोस्ट पुनः बहाल हुने आशा व्यक्त गरेका छन्।
यसैबीच, बालेनले पोस्ट हटाएकोमा असन्तोष व्यक्त गर्दै दोषीलाई पक्राउ गर्न सरकारलाई पुनः आग्रह गरेका छन्। उनले सरकारलाई पोस्ट उडाउने नभई दोषीलाई समात्न चुनौती दिए। बालेनले भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।”
यो घटनाले सामाजिक सञ्जालमा व्यापक चासो र चर्चा पाएको छ।