सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
काठमाडौं। सुर्खेत प्रादेशिक अस्पतालमा अब क्यान्सर उपचार सेवा पनि उपलब्ध हुने भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालसँग सेवा विस्तार गर्ने सम्झौता गरेपछि सुर्खेतमा क्यान्सर उपचार सेवा सुरु हुन लागेको हो।
मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डम्बर खड्काले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतामा बीपी कोइराला अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार सेवाहरू समेटेर प्रदान गर्नुपर्ने उल्लेख छ, भने सुर्खेत प्रादेशिक अस्पतालले आवश्यक पूर्वाधारको व्यवस्था गर्नेछ।
यसअघि, कोशी प्रदेश अस्पतालसँग पनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यस्तै सम्झौता गरिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको गत असार ३१ गते राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए, जसमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने लक्ष्य समेटिएको थियो। यसै योजनाअन्तर्गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए।
यो सम्झौतासँगै अब सुर्खेतका नागरिकहरूले पनि क्यान्सर उपचारको लागि अन्यत्र जानु नपर्ने र स्थानीय स्तरमै सेवा पाउने छन्, जसले उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।