बोस्टन अल स्टारले जित्यो दोस्रो रूप स्मृति एभरेस्ट कप क्रिकेटको उपाधि
भर्जिनिया/ दोस्रो रूप स्मृति एभरेस्ट कप क्रिकेटको उपाधि बोस्टन अल स्टारले जितेको छ। सोमवार सम्पन्न फाइनलमा आयोजक एभरेस्ट लायन्स क्रिकेट क्लबलाई चार विकेटले हराउँदै बोस्टनले उपाधि जितेको हो।
भर्जिनियाको मनासस पार्कमा रहेको क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङमा आएको आयोजक एभरेस्टले पाहुना टिमलाई ७९ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरको खेलमा एभरेस्ट एक बल बाँकी हुँदा अलआउट भएको थियो।
एभरेस्टका लागि निर गुरुङले सर्वाधिक ३० रन जोडे। ३६ बलको सामना गरेका गुरुङले एक चौका र तीन छक्का प्रहार गरेका थिए। यस्तै राहुल ठाकुर र महादेव विष्टले पनि समान दश दश रन जोडेका थिए। नौ अतिरिक्त रन पाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।
बोस्टनका रञ्जन दाहालले सर्वाधिक तीन विकेट लिए। यसै गरी भेषराज पराजुलीले पनि दुई विकेट लिएका थिए।
फाइनलमा अलराउण्डर प्रदर्शन गरेका रञ्जनकै ४६ रनले प्रेरित बोस्टनले १७ ओभर चार बलमा नै ६ विकेट खर्चँदै ८२ रन जोडेको थियो। बोस्टनका गौरभ सिंहले पनि १९ रनको योगदान दिए।
एभरेस्टका अन्सुल मुडभरी, विनोद कार्की र अभिजित राईले दुई दुई विकेट लिए पनि टिमलाई उपाधि जिताउन सकेनन्।
त्यसो त बोस्टनको सुरुवाती पारी पनि धरमराएको थियो।
चौथो ओभरको समाप्तिमा मात्र ६ रन हुँदा पहिलो विकेट गुमाएको बोस्टनले सातौँ ओभरमा दुई विकेटको क्षति हुँदा खातामा मात्र २१ रन जोडेको थियो। तर त्यस पछि रञ्जनले परिस्थिति सम्हालेका थिए।
५१ बलको सामना गरेका रञ्जनले ४६ रन जोडे। उनले पाँच चौका र एक छक्का प्रहार गरे। टिमको स्कोर ६५ रन रहेको अवस्थामा १५ औ ओभरमा रञ्जन पेभिलियन फर्किए पछि थप ६ रन जोड्दा बोस्टनले तीन विकेट खर्चिएको थियो। यद्पी २२ बलको सामना गरेका गौरभको अविजित १९ रन बोस्टनलाई उपाधि उचाल्न काफी बन्यो।
फाइनलमा रञ्जन प्लेयर अफ दि म्याच घोषित भए। उपाधि सँगै बोस्टनले पाँच हजार अमेरिकी डलर नगद पायो। उप विजेता एभरेस्टको पोल्टामा तीन हजार डलर मात्र पर्यो।
यस अगाडि सोमबार नै भएको सेमी फाइलमा बोस्टनले ड्रुक च्यालेन्जर पेन्सिल्भेनियालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
यस्तै अर्को सेमिफाइनलमा आयोजक एभरेस्टले एभरेस्ट कम्युनिटी नर्थ क्यारोलियनालाई ३३ रनले हराएको थियो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र एभरेस्ट लायन्सले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । तीन दिने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइएको थियो।
पूर्व भारोत्तोलन खेलाडी रूप कार्कीको स्मृतिमा गत वर्ष देखि क्रिकेट प्रतियोगिता आयोजना हुन थालेको हो। प्रतियोगिताको पहिलो संस्करण मेरील्याण्डमा भएको थियो। पहिलो संस्करण साथी बाल्टिमोरले जितेको थियो।
दोस्रो संस्करणको विजेता तथा उपविजेता टिमका खेलाडीलाई रूप कार्कीका धर्मपत्नी शोभा कार्की र एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, एनआरएनए अमेरिका युवा उपाध्यक्ष अनुप खनाल लगायतले पुरस्कार वितरण गरेका थिए।