एक–दुई मतको हिसाब गरेर हामीले जनसम्पर्क समितिलाई ध्वस्त पारेका छौँ : गगन थापा, सभापति, नेपाली कांग्रेस
ल्यानक्यास्टर पेन्सिल्भेनिया / लामो समयदेखि हामीले जनसम्पर्क समितिहरूलाई एक प्रकारले हाम्रो कार्यशैलीका कारण कमजोर र निष्प्रभावी बनायौँ। देशभित्रको पार्टीको अधिवेशन केन्द्रित सोचबाट हामीले जनसम्पर्क समितिहरूलाई हेर्यौँ।
जनसम्पर्क समिति भनेको कति जना महाधिवेशन प्रतिनिधि आउनुहुन्छ भन्ने हिसाबले मात्रै हेर्ने गरियो। अधिवेशनको बेला जनसम्पर्क समितिलाई यही कारणले मिलाउने काम गरियो। यसमा कसैले आफूलाई अलग राख्न सक्दैन। हामी सबै, म आफैँ पनि, त्यो प्रक्रियाको एउटा हिस्सा हौँ। किनकि हामीले विधानको व्यवस्था नै त्यसरी गर्यौँ—जनसम्पर्क समितिको अधिवेशन गर्ने, अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छान्ने र ती महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अधिकार प्राप्त गर्ने तथा आफैँ चुनिने अधिकार प्राप्त गर्ने व्यवस्था गर्यौँ।
तर हामीले जनसम्पर्क समितिलाई विस्तार गर्ने र अगाडि बढाउनेभन्दा पनि त्यसलाई सानो बनाउनेतर्फ लाग्यौँ। आफ्नो गुटको आधारमा निर्णय गर्ने प्रवृत्ति देखियो। यो कुरा हामीले चिनिराख्नुपर्छ।
अहिले यो पटक विशेष महाधिवेशनपछि बनेको विधानमा केही नयाँ व्यवस्था गरेका छौँ। जसको आधारमा अब जनसम्पर्क समितिबाट मात्रै होइन, साधारण साथीहरू पनि समितिभित्र रहन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी अन्तर्राष्ट्रिय समितिको पनि विधानमा व्यवस्था छ, जसको आधारमा जनसम्पर्क समितिमा नेतृत्व गरिसक्नुभएका साथीहरू पनि अन्तर्राष्ट्रिय समितिमा रहन सक्नुहुन्छ।
यो साधारण समितिको संरचनामा आउने कुराले पनि नयाँ बाटो खोल्छ। अब हामीले अर्को चरणमा जनसम्पर्क समितिलाई केही फरक बनाउने कि केवल मत माग्ने एउटा आधार बनाउने भन्ने प्रश्न छ। यही हिसाबको प्रचार–प्रसार यहाँ आएको हो।
अहिले हाम्रो अपेक्षा के छ भने जनसम्पर्क समितिभित्र नेपाली कांग्रेसको संगठनमा केन्द्रित भएर सम्बन्धहरूलाई नयाँ ढंगले अगाडि बढाउने। हामी नयाँ सम्बन्ध निर्माण गरेर अगाडि जाँदै छौँ। मैले अस्ति जापानमा अधिवेशन भयो, कोरियामा अधिवेशन भयो, भर्खरै अर्को ठाउँमा पनि अधिवेशन भएको छ। सबै ठाउँमा साथीहरूलाई भेटेको छु।
नेपालमा यहाँ एउटा कुरा भन्ने गरिन्छ—तपाईंहरू महाधिवेशन प्रतिनिधि भएर आइसकेपछि पार्टीभित्र भोलि पदमा महाधिवेशन भए कसलाई रोज्ने, कसलाई मत हाल्ने भन्ने। हामी यसपालि करिब ६ हजार महाधिवेशन प्रतिनिधि आउनुहुन्छ भन्ने अवस्थामा छौँ। पहिलेभन्दा अहिलेको महाधिवेशनमा ३१ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।
त्यसरी हजारौँ जना महाधिवेशन प्रतिनिधि भएको ठाउँमा जनसम्पर्क समितिबाट आउने साथीहरूको एक–दुई मतको हिसाब गरेर हामीले जनसम्पर्क समितिलाई ध्वस्त पारेका छौँ। हामी पनि त्यसको एउटा हिस्सेदार भएका छौँ। अब त्यसबाट निस्किन चाहन्छौँ।
तपाईंहरूले पनि जनसम्पर्क समितिलाई राख्नुको कारण के हो भन्ने विषयमा सोच्नुपर्छ। को–को महाधिवेशन प्रतिनिधि आउनुहुन्छ भन्ने मात्रै होइन, आउने महाधिवेशन प्रतिनिधिको पार्टीभित्रको लाइन, सोच र रुचि के छ भन्ने कुरा पनि हाम्रो लागि अत्यन्तै चासोको विषय हो।
हाम्रो सबैभन्दा ठूलो चासो भनेको यो अधिवेशन सम्पन्न भएर गइसकेपछि जनसम्पर्क समितिको कार्यसमिति र नेपाली कांग्रेसबीच कति प्रभावकारी सम्बन्ध कायम गर्न सक्छौँ भन्ने हो। हामीले प्रभाव राख्न सकेका छौँ भने त्यसलाई मान्नुपर्छ। देशभित्र होस् वा बाहिर, त्यसको कुनै एउटा व्यक्ति मात्र कारण हुँदैन। त्यसका अनेक कारण हुन्छन्।
हामीले प्रस्तुत गरेका विषयमा न बहस भयो, न पर्याप्त छलफल भयो। अब यहाँबाट निस्केपछि नयाँ पुस्ताका साथीहरू, हामीभन्दा पछिल्लो पुस्ताका साथीहरूलाई अगाडि ल्याउनुपर्छ। उनीहरूलाई जनसम्पर्क समितिमा आकर्षित गर्न सक्ला कि नसक्ला? अहिलेको भन्दा जनसम्पर्क समितिलाई कस्तो बनाउन सक्छौँ? अहिले गरिएको व्यवस्थाभन्दा के फरक आउन सक्छ?
यी विषयमा हामीले गम्भीर रूपमा सोच्न आवश्यक छ।
(नेपाली जनसम्पर्क समिति अमेरिकाको १२ वर्ष पछि भर्जिनियामा अगस्त १४-१६ तारिख सम्पन्न तेस्रो महाधिवेशनको उद्घाटनमा भर्चुल मार्फत नेपाली कांग्रेसका सभापति गगन थापाको शुभ कामना मन्तव्यको केही भाग हामीले पुन प्रकासित गरेका हौ । )
















