विश्वकपको अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित
पेन्सिल्भेनिया । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।
क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटियो । नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएका थिए ।
नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिखदेखि शुरु हुदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।