प्रतिकूल मौसममा पनि बाल्टिमोरमा बानाको आठौँ नेपाली सडक महोत्सव सम्पन्न
बाल्टिमोर, मेरिल्याण्ड / प्रतिकूल मौसमका बाबजुद बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)ले आइतबार मेरिल्याण्ड बाल्टिमोर स्थित टाउसनमा आठौँ नेपाली सडक महोत्सव आयोजना गरेको छ।
नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा नेपाली समुदायका साथै स्थानीय अमेरिकी तथा विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।
महोत्सवको शुरुमा नेपाली कला, संस्कृति र परम्परा झल्काउने विभिन्न झाँकीसहित परेडसमेत आयोजना गरिएको थियो।
परेडमा विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरू आ आफ्नो मौलिक र परम्परागत पोशाकमा सहभागी भएका थिए ।
महोत्सवको उद्घाटन अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरनले पानसमा बत्ती बालेर गरेका थिए। सोही समय हिन्दु तथा बौद्ध धर्मगुरुहरूले मन्त्रोच्चारण गरेका थिए।
प्रमुख अतिथि कार्यवाहक राजदूत आरनले प्रतिकूल मौसमका बाबजुद महोत्सवमा सहभागिता भएकोमा खुसी व्यक्त गरे। उनले नेपाली संस्कृति पहिरन, खानाका परिकार, संगीत, भाषा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत देखिने बताए।
आरनले नेपाली संस्कृतिलाई नयाँ पुस्तासँग जोड्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए। उनले बानाले नेपाली सभ्यता र संस्कृतिको प्रवर्द्धन तथा नेपाली समुदायलाई एकताबद्ध गर्न खेलेको भूमिकाको प्रशंसा गरे।
बाना अमेरिकामा लोकप्रिय हुनुको एउटा कारण नेपाली संस्कृति प्रवर्द्धनसँगै दोस्रो र तेस्रो पुस्ताका नेपालीलाई जोड्ने अभियान रहेको आरनको भनाइ थियो।
नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपत्तिपछि राहत तथा सहयोगमा अमेरिकामा रहेका नेपाली समुदायले देखाएको सक्रियताका लागि पनि उनले धन्यवाद व्यक्त गरे।
यस अगाडि महोत्सवको उद्घाटन समारोहको शुरुमा बानाका कार्यकारी निर्देशक भीम विकेले सडक महोत्सवको उद्देश्यबारे प्रकाश पार्दै नेपाली संस्कृति र परम्परालाई अमेरिकामा नयाँ पुस्तासँग जोड्नुका साथै स्थानीय समुदाय र नेपाली मूलका मानिसबीच सम्बन्ध विस्तार गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए।
“हामी कहाँ जन्मियौँ, हामी को हौँ, हामी कहाँबाट आयौँ र आगामी पुस्तालाई के हस्तान्तरण गर्न चाहन्छौँ भन्ने कुरासँग यो महोत्सव जोडिएको छ,” विकेले भने, “संस्कृति नै यस्तो माध्यम हो, जसले अमेरिकामा पनि सबैलाई एकआपसमा जोड्न सक्छ।”
बानाका वरिष्ठ उपाध्यक्ष जनक थापाले स्वागत मन्तव्य दिएका थिए।
अमेरिकी सिनेटर क्रिस भ्यान होलेनको कार्यालयकी वरिष्ठ क्षेत्रीय निर्देशक जेसिका क्लेटम्यानले सिनेटर भ्यान होलेनको शुभकामना सन्देश सुनाउँदै बानाको आठौँ नेपाली सडक महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिइन्।
उनले नेपाली अमेरिकी समुदायले मेरील्याण्डको विविधता र स्थानीय समुदायमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाली संस्कृति, संगीत, खाना र परम्परा साझा गर्ने यस्ता कार्यक्रमले समुदायलाई जोड्ने बताइन्।
क्लेटम्यानले सन् २०२३ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको समृद्ध संस्कृति र नेपाली तथा अमेरिकी जनताबीचको सम्बन्धप्रति आफ्नो सम्मान रहेको बताइन्। उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन समयमा नेपाली समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्।
सो अवसरमा सिनेटर क्रिस भ्यान होलेनको कार्यालयका तर्फबाट बानालाई साइटेसनसमेत प्रदान गरिएको थियो। उक्त साइटेसन क्लेटम्यानले बानाका प्रतिनिधिलाई हस्तान्तरण गरेकी थिइन्।
त्यस्तै, बाल्टिमोर काउन्टीकी आप्रवासी मामिला प्रमुख जुलियाना भ्यालेन्सिया–बैंक्सले नेपाली समुदायले काउन्टीमा पुर्याएको योगदानको प्रशंसा गरिन्। उनले नेपाली समुदायबीच सांस्कृतिक तथा नागरिक सहभागिता सुदृढ बनाउन बानाले गरेको कामको सराहना गर्दै नेपालमा आएको विपत्तिको समयमा बाल्टिमोर काउन्टी नेपाली समुदायसँग ऐक्यबद्धता र प्रार्थनासहित उभिएको बताइन्।
बानाका अध्यक्ष जितेन्द्र गुरुङले प्रतिकूल मौसमका बाबजुद महोत्सवमा सहभागी सबैलाई धन्यवाद दिए। उनले समुदायको साथ, सहयोग र मायाकै कारण बाना र सडक महोत्सव निरन्तर अघि बढिरहेको बताए।
गुरुङले नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महोत्सवले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
महोत्सवको दोस्रो सत्रमा चर्चित नेपाली गायकहरूले प्रस्तुति दिएका थिए। स्थानीय कलाकार तथा बालबालिकाहरूले नेपाली मौलिक नृत्य प्रस्तुत गरेका थिए।
महोत्सव स्थलमा नेपाली खाना तथा विभिन्न व्यवसायका स्टलहरू पनि राखिएका थिए। विभिन्न सांस्कृतिक प्रस्तुति, नेपाली परिकार र व्यवसायिक स्टलमार्फत नेपाली संस्कृति, कला, खानपान र समुदायको विविधता प्रदर्शन गरिएको थियो।

















