ह्यारिसबर्गमा मनाइयो बृहत् उभौली,साकेला प्रतिस्पर्धामा मेरील्याण्ड पहिलो
ह्यारिसबर्ग/ बृहत् उभौली साकेला अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आइतबार (मे २६ तारिख ) धूमधाम सँग मनाइएको छ।
भुट्नीज किरात राई अर्गनाइजेशन अफ अमेरिका केन्द्रीय कमिटी र ह्यारिसबर्ग ब्रान्चको आयोजना स्थानीय लिङ्गल पार्कमा उभौली साकेला दिनभर मनाइएको हो।
केन्द्रीय कमिटीका अध्यक्ष अम्बर चाम्लिङका अनुसार उभौली साकेला मनाउन पेन्सिल्भेनिया राज्य भन्दा बाहिरबाट पनि सयौँको सङ्ख्या समुदायका सदस्यहरू आएका थिए।
मिचिगन, ओहायो, भ्रमण, न्यु योर्क, मेरील्याण्ड, केन्टकी, नेबास्का, जर्जिया, वासिङ्टन सियाटल, न्यु ह्याम्सायर, म्यासाट्युसच लगायतका राज्यबाट बृहत् उभौली साकेलामा सहभागी भएका थिए।
‘अब सात वर्ष पछि मात्र ह्यारिसबर्गले यो अवसर पाउँछ’ कार्यक्रमका उद्घोषक तथा गायक राज खम्बो भन्दै दिए। हुन पनि सन् २०१३ मा स्थापना भएको भुट्नीज किरात राई अर्गनाइजेशन अफ अमेरिका केन्द्रीय कमिटीले ११ पटक बृहत् उभौली साकेला आयोजना गरी सकेको छ।
‘हामी उँधौली हरेक ब्रान्चमा इन्डोर गर्छौ, त्यो बेला अमेरिकामा हिउँ पनि पर्छ, उभौली चैँ हरेक वर्ष फरक फरक राज्यमा खुल्ला ठाउँमा बृहत् रूपमा आयोजना गर्छौ।’ अर्गनाइजेशनका संस्थापक एवं सल्लाहकार खम्बोले भने।
अर्गनाइजेशनको ११ मध्ये आठ ब्रान्चले ह्यारिसबर्ग उभौली साकेलामा भाग लिएका थिए।
लिङ्गल पार्क भित्र नव निर्मित क्रिकेट मैदानको बिचमा बनाइएको थानमा माहाबीहरु (गुरु/पुरोहित) द्वारा विधिपूर्वक पूजा गरिएको थियो। माहाबीहरु मिचिगनबाट आएका नरनाचरिङ राई, ओहायो सिनसिटानीबाट आएका नरकोथु राई तथा मेरील्याण्डबाट आएका नरथालुङ राई र पूर्वा हाङखिम राईबाट किरात राईहरूको मुन्डोमी पद्धतिबाट पूजा गरी उभौलीको उद्घाटन गरिएको थियो।
अन्नबाली राम्रो होस, रोगव्याधी नलागोस् भन्दै किरात राई समुदायमा हिउँद लाग्दै गर्दा उँधौली र गर्मी लाग्दै गर्दा उभौलीमा प्रकृति (भूमि) र पितृ पूजा गर्ने गरिन्छ।
उभौलीमा सहभागी हुन आएका समुदायका सदस्यहरू परम्परागत भेसभुसामा सजिएका थिए। बालबालिकाहरू पनि परम्परागत पोसाकमा उत्साहजनक रूपमा सहभागी भएका थिए।
कार्यक्रम स्थल प्रवेश गर्ने मुलद्वारमा नै आयोजक सदस्यहरूले प्रमुख अतिथि, अन्य अतिथि तथा सहभागीहरूको स्वागत गरिएको थियो।
त्यस पछि सहभागीहरूले झाँकी सहित साकेला नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि पेन्सिल्भेनिया प्रतिनिधि सभा सदस्य तथा आगामी निर्वाचनमा डेमोक्रयाटिक पार्टीबाट सिनेट उम्मेदवार प्याटी किमले सम्बोधन गरेकी थिएन। उनले किरात राई समुदायको साकेला प्रत्यक्ष हेर्न पाएकोमा खुसी व्यक्त गर्दै उभौली पर्वको शुभ कामना दिइन।
यसै गरी पेन्सिल्भेनिया प्रतिनिधि सभाका अर्का सदस्य डेभिड म्याडसन, डाउपिन काउन्टीका कमिस्नर जस्टिन डगलस, भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले पनि उभौली पर्वको शुभकामना दिएका थिए।
औपचारिक कार्यक्रम पछि सहभागी आठ ब्रान्च बिचमा साकेला प्रतियोगिता गराइएको थियो। जसमा मेरील्याण्ड पहिलो, ओहायो एक्रोन दोस्रो र पेन्सिल्भेनियाको एरी तेस्रो भएको थियो।
हरेक सहभागी ब्रान्चलाई आफ्नो प्रस्तुति आयोजना गर्न १५ मिनेटको समय दिइएको थियो।
बृहत उभौलीका हाइलाइट्स
कार्यक्रमका थप तस्बिरहरु