नेपालका बाढीपीडितलाई नेदरल्याण्ड्सस्थित भुटानी समुदायको साथ
सहयात्री ढकाल
कोलम्बस, ओहायो / नेदरल्याण्ड्सस्थित भुटानी समुदाय ( बीसीएन) ले नेपालमा बाढीबाट प्रभावितका लागि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख एकहत्तर हजार सात सय छब्बीस रुपैयाँ अस्सी पैसा सहयोग गरेको छ।
बीसीएनका अनुसार उक्त रकम २४ सय २८ अमेरिकी डलर बराबरको हो। नेदरल्याण्ड्समा रहेका २४ जना दाता तथा योगदानकर्ताहरूबाट संकलित रकम २१ सेप्टेम्बर २०२६ मा हिमालयन बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।
सहयोग रकम हस्तान्तरणसम्बन्धी प्रक्रियाअन्तर्गत २८ सेप्टेम्बरमा बीसीएनका अध्यक्ष गोपाल गुरुङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डका अध्यक्ष विष्णु पोखरेलसहितको टोलीलाई बैंक कारोबारसम्बन्धी आवश्यक कागजात हस्तान्तरण गरेको बीसीएनले जनाएको छ।
बीसीएनले बाढीपीडित नेपाली नागरिकहरूको सहयोगका लागि आर्थिक योगदान गर्ने २४ जना दाता तथा योगदानकर्ताहरूप्रति धन्यवाद व्यक्त गरेको छ। विपद्को समयमा मानवीय सहयोगका लागि समुदायका सदस्यहरूले गरेको योगदानप्रति बीसीएनले आभार प्रकट गरेको छ।
त्यसैगरी, सहयोग रकमसम्बन्धी कागजात बुझ्ने तथा आवश्यक सहजीकरण र सहयोग प्रदान गरेकोमा एनआरएनए नेशदरल्याण्डका अध्यक्ष विष्णु पोखरेल र उहाँको टोलीप्रति पनि बीसीएनले आभार व्यक्त गरेको छ।
नेपालमा आएको विपद्का समयमा नेदरल्याण्ड्समा रहेका भुटानी समुदायबाट गरिएको यो सहयोगले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने बीसीएनले विश्वास व्यक्त गरेको छ।

















