यूएससीआईएसले केही शुल्क बढाउदै, अक्टोबर १६ देखि लागू हुने
वाशिंगटन डीसी। यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज ( (यूएससीआईएस) ले आर्थिक वर्ष २०२७ का लागि केही आप्रवासनसम्बन्धी शुल्क वृद्धि गर्ने भएको छ। मुद्रास्फीतिका कारण शुल्कमा सामान्य वृद्धि गरिएको यूएससीआईएसले जनाएको छ। नयाँ शुल्क सन् २०२६ अक्टोबर १६ देखि लागू हुनेछ।
यूएससीआईएसले संघीय दर्ता (फेडरल रजिस्टर) मा प्रकाशित सूचनामार्फत एचआर–१ कानुनअन्तर्गत लाग्ने केही आप्रवासन शुल्क समायोजन गरेको हो। सन् २०२५ जुलाईदेखि २०२६ जुलाईसम्मको मुद्रास्फीतिलाई आधार मानेर शुल्क वृद्धि गरिएको सूचनामा उल्लेख छ।
यसअघि सन् २०२५ जुलाई २२ मा यूएससीआईएसले एचआर–१ अन्तर्गतका आप्रवासन शुल्क लागू गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको थियो। उक्त व्यवस्थाअनुसार सन् २०२६ देखि प्रत्येक आर्थिक वर्षमा मुद्रास्फीतिका आधारमा केही शुल्क समायोजन गरिँदै आएको छ।
नयाँ व्यवस्थाअनुसार शरण आवेदनको वार्षिक शुल्क १०२ अमेरिकी डलरबाट बढेर १०५ डलर पुगेको छ। त्यस्तै, यात्रा अनुमति, पारोलसम्बन्धी कागजात तथा आगमन–प्रस्थान अभिलेखका लागि लाग्ने आप्रवासन पारोल शुल्क १ हजार २० डलरबाट बढेर १ हजार ५० डलर कायम गरिएको छ।
काम गर्ने अनुमति (ईएडी) का लागि प्रारम्भिक आवेदन दिने शरणार्थी आवेदक, पारोलमा रहेका व्यक्ति तथा अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्तर्गतका आवेदकको शुल्क ५६० डलरबाट बढेर ५७० डलर पुगेको छ।
त्यसैगरी, अस्थायी संरक्षित स्थिति (टीपीएस) का लागि आवेदन दिँदा लाग्ने फाराम आई–८२१ को शुल्क ५१० डलरबाट बढाएर ५२० डलर बनाइएको छ।
यूएससीआईएसका अनुसार नयाँ शुल्क लागू हुने मिति अर्थात् अक्टोबर १६ वा त्यसपछि हुलाकमार्फत पठाइएका आवेदन तथा अनुरोधमा नयाँ दरअनुसारको शुल्क बुझाउनुपर्नेछ। तोकिएको शुल्क नबुझाई पठाइएका आवेदन तथा अनुरोध अस्वीकृत गरिने सूचनामा उल्लेख छ।
यस शुल्क वृद्धिले विशेषगरी शरण आवेदन, पारोल, काम गर्ने अनुमति र अस्थायी संरक्षित स्थितिसम्बन्धी सेवाका लागि आवेदन दिने आप्रवासीलाई असर पार्नेछ।

















