ह्यारी भण्डारीको क्षेत्रमा मतदान हुँदै
मेरील्याण्ड/ नेपाली मूलका पहिलो अमेरिकन विधायक डा. ह्यारी भण्डारीको क्षेत्रमा अहिले (मे १४ मंगलवार) मतदान भइरहेको छ। बहालवाला डेलिगेड भण्डारीले अबको यात्रा सङ्घीय संसद् बनाएका छन्। उनी अहिले मेरील्याण्ड राज्य संसद्का सदस्य हुन्। यो उनको दोस्रो कार्यकाल हो।
राज्य संसदमा बहाल रहँदै भण्डारी सङ्घीय संसद्को लागि चुनावी मैदानमा उत्रिएका हुन्। सङ्घीय संसद्का लागि आगामी नोभेम्बरमा चुनाव हुदैछ। त्यो चुनावमा प्रतिस्पर्धा गर्नका लागि भण्डारीले आफ्नै पार्टी भित्रको (प्राइमरी) चुनावमा जित्नु पर्ने छ। भण्डारी डेमोक्रयाट पार्टीका उम्मेदवार हुन।
सङ्घीय संसद्का लागि भण्डारीको क्षेत्र डिस्ट्रिक २ हो। यो क्षेत्रको प्राइमरीमा ६ जना उम्मेदवार छन्।
सन् २००३ देखि डेमोक्रयाटले जित्दै आएको यो क्षेत्रमा प्राइमरी जित्नेले लगभग अन्तिम चुनाव पनि जित्ने आकलन गरिँदै आएको छ।
११ औँ कार्यकालका लागि निर्वाचितका कंग्रेसम्यान रहेका डच रुपर्सबर्गरले स्वैच्छिक रूपमा राजीनामा घोषणा गरे पछि सिट खाली भएको हो।
भण्डारीको क्षेत्रमा नेपाली मूलका मतदाताको सङ्ख्या पनि बाक्लो छ। बाल्टिमोर काउन्टी, बाल्टिमोर सिटी काउन्टी र क्यारोल काउन्टीका गरी एक सय ६९ मतदान केन्द्र यस निर्वाचन क्षेत्रमा पर्छ।
जसमा बाल्टिमोर काउन्टीमा १३२, क्यारोल काउन्टीमा २४ र बाल्टिमोर सिटी काउन्टीमा १३ वटा मतदान केन्द्र छन् ।
भण्डारीको सचिवालयले सबै केन्द्रमा स्वयंसेवक खटाइएको जनाएको छ।