नीति तथा कार्यक्रममा गैर आवासीय नेपाली समूदाय कसरी समेटियो?
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले गैर आवासीय नेपाली (एनआरएन) हरुको योग्यता र क्षमतालाई प्रयोग गर्ने उल्लेख गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा एनआरएनसँग विभिन्न ठाउँमा सहकार्य गर्ने उल्लेन गरिएको छ ।
नीति तथा कार्यक्रमको ७६ नम्बर बुँदमा मूर्तिकला, थाङ्का, काष्ठकला लगायतका पारम्परिक हस्तकला प्रवर्द्धन गरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहुँच बढाउन कूटनीतिक नियोग र गैर आवासीय नेपाली समुदायलाई परिचालन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, विद्यालय, अनुसन्धानकर्ता र वैज्ञानिकलाई परिचालन गर्नुका साथै यस कार्यमा गैरआवासीय नेपालीलाई सहभागी हुन आह्वान गरिनेछ। विज्ञान, सञ्चार तथा सूचना प्रविधि विषय समेट्ने गरी विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरिनेछ। अनुसन्धान र नवप्रवर्तनबाट विकसित ज्ञान र उत्पादनको पेटेण्ट दर्ता गर्न र उत्पादनलाई बजारमा पुर्याउन सहजीकरण गरिनेछ।
वैदेशिक लगानी तथा व्यापार, रोजगारी र पर्यटन प्रवर्द्धन गर्न सक्षम आर्थिक कूटनीति सञ्चालन गर्न संस्थागत क्षमता सुदृढ तुल्याइनेछ। गैरआवासीय नेपालीको ज्ञान, सिप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गरिनेछ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचन पद्धतिलाई संस्थागत गरी लोकतन्त्रको सुदृढीकरण गरिनेछ। निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाइनेछ। राजनीतिक दलको नियमन प्रणाली व्यवस्थित गर्न नीतिगत सुधार गरिनेछ। प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानूनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ।
सार्वजनिक सेवाप्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेका दोहोरोपन हटाउनुका साथै सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिनेछ। नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गरिनेछ। सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिनेछ। स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सरल र सहज रूपमा राहदानी सेवा उपलब्ध गराइनेछ। समस्यामा परेका नेपालीको उद्धार, कानूनी सहायता तथा परामर्श र स्वदेश फिर्ती लगायतका कन्सुलर सेवा प्रभावकारी बनाइनेछ।
अन्त्यमा, मुलुकको विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक, श्रमिक, निजी, सहकारी र सामुदायिक क्षेत्र, नागरिक समाज, सञ्चारजगत् लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। नेपालको विकासमा सहयोग पुर्याउने छिमेकीलगायतका मित्रराष्ट्र, विकास साझेदार र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु।