भर्जिनियामा हाम्रो भजन समूहको देउसी-भैलो सम्पन्न
स्यानटिली,भर्जिनिया / नेपाली तथा नेपाली भाषीहरूको दोस्रो महान् चाड तिहारको रमझम बिस्तारै बाक्लिँदै आएको छ। नेपाल र प्रवासमा रहेका नेपालीमनहरू यो चाडलाई उल्लासका साथ मनाउन आ-आफ्नो तयारीमा जुटेको छन्।
प्रवासमा रहेका नेपालीमनहरू आ-आफ्नो कार्य व्यस्तताका बावजुत घर सिँगार्ने, साँझ बिजुली बत्ती झिलिमिली पार्ने लगायतका काममा सक्रिय रहेका छन्। यसैबिच अमेरिकामा रहेका विभिन्न नेपाली तथा भुटानी समुदायका संघ संस्थाहरूले तिहारको पूर्व सन्ध्यामा देउसी-भैलो कार्यक्रम आरम्भ गरेका छन्।
यसैक्रममा भर्जिनियास्थित विभिन्न सामुदायिक संस्थाहरूले देउसी-भैलोलाई तीव्रता दिएका छन्। यसैबिच यहाँ स्थित हाम्रो भजन समूहले आफ्नो देउसी-भैलो सम्पन्न गरेको छ।
बर्सेनि देउसी खेल्दै आएको यो समूहले नेपाली सांस्कृतिक निरन्तरता र बालबालिकाहरूलाई देउसी-भैलो प्रशिक्षण गर्दै आएको छ। समूहका अध्यक्ष भरत सुवेदी निवासमा सम्पन्न देउसी-भैलोमा समूहका राजु अधिकारी, आकाश अधिकारी र संसार पौडेलले भट्ट्याउने जिम्मेवारी निभाएका थिए। जसलाई समूहका अन्य सदस्यले सक्रियतापूर्वक साथ दिएका थिए।
वाद्यवादनमा रमेशबाबु चापागाईँ, राजु अधिकारी र केशव सिग्देल, डिजे तर्फ नव अधिकारीको भूमिका सह्रानीय रहेको थियो। सो कार्यक्रममा राजेन्द्र तिमिल्सिना र संसार पौडेलको हास्य व्यङ्ग्यात्मक नृत्यले निकै मनोरञ्जन तुल्याएको थियो।
देउसीको बिच बिचमा महिला र पुरुष अनि साना नानीहरूका नाचले अझ सांस्कृतिक रौनक बढाएको थियो। दुई चरण गरी खेलिएको यस देउसीमा पहिलो चरण वयस्क उमेर समूह र दोस्रो चरण बाबु-नानीहरूको प्रस्तुति रहेको थियो।
बालबालिकाको उल्लेख्य उपस्थिति रहेको दोस्रो चरणमा देउसी-भैलो किन खेलिन्छ र कसरी खेलिन्छ भनेर भरत सुबेदी र आकाश अधिकारीले प्रशिक्षण गराएका थिए। साथै अभिवाकहरूले हौसला स्वरूप उनीहरूलाई देउसी दान गर्दा बालबालिकाहरू फुरुङ्ग भएका थिए।
देउसी-भैलोबाट संकलित रकम आवश्यक उपकरण खरिद र सामाजिक कल्याणका लागि खर्च गरिने समूह सदस्य बृहस्पति लम्सालले जनाएका छन्। कार्यक्रमको संयोजन प्रकाश आचार्य, व्यवस्थापन शंकर तिमिल्सिनाले गरेका थिए भने सञ्चालन सन्दीप बास्तोलाले गरेका थिए। साथै स्वादिष्ट सेल रोटी परिकारका लागि सुनिता सुवेदी, बिद्या पौडेल, सृजना आचार्य, पूजा सिग्देल, अर्पणा आचार्य, गायत्री सिग्देल लगायतको अहम भूमिका रहेको थियो।
रात्रि भोजको आंशिक सौजन्य हिमालयन स्पाइस एण्ड ग्रीलले गरेको थियो। यस्तै हे मार्केट स्थित अमेरिका -नेपाल सहयोगी समाज र हरन्डन स्थित आदर्श नेपाली समाजले आ- आफ्नो देउसी सम्पन्न गरेका छन्। अमेरिकी समयानुसार काम र समयको उचित व्यवस्थापकीय कारण सप्ताहान्तमा मात्रै देउसी-भैलो खेल्नु परेको आदर्श नेपाली समाजकी आरती सिग्देले बताइन्।


















