एनआरएनए अमेरिका लम्साल समूह : शेष घलेको निर्देशन कुर्ने
पेन्सिलभेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका सूर्य लम्साल समूहले सर्वोच्च अदालतको पछिल्लो निर्णयको स्वागत गर्ने निर्णय गरेको छ।
अप्रिल आठ तारिख बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव यदु बन्जराले जानकारी दिए।
सर्वोच्च अदालतले एनआरएनए विवादका सम्बन्धमा अघिल्लो साता महत्त्व पूर्ण निर्णय गरेको थियो। अदालतले दशौँ महाधिवेशन पछि बनेका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का समानान्तर समूहलाई खारेज गर्ने फैसला गरेको हो।
प्रतिनिधि विवादका कारण दशौँ महाधिवेशनमा एनआरएनए दुई समूहमा विभाजित भएको थियो। शेष घलेको निर्देशनमा विनोद कुँवरको अध्यक्षतामा एउटा कमिटी भनेको थियो भने अर्को तर्फ कुल आचार्य, रविना थापा र डा.बद्री केसी अध्यक्ष बनेका थिए।
तीन अध्यक्ष रहेको समूहले एधारौ अधिवेशन गरिसकेको छ र त्यो समूह पनि फेरि फुटेर दुई समूह बनेको छ।
सर्वोच्च अदालतले आइसीसीको कमिटीलाई मान्यता नदिएको भए पनि एनसीसीहरु के हुने भन्ने अझै अन्योल छ।
अमेरिका सहित कयौँ देशमा दुवै समूहले एनसीसी गठन गरेका छन्। विनोद कुँवर अन्तर्गतको एनसीसी अमेरिकाको अध्यक्ष सूर्य लम्साल रहेका छन्।
लम्साल समूहको बोर्ड बैठकले अदालतको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने निर्णय गरेको हो।
‘यो निर्णयले संयुक्त राज्य अमेरिका र विश्वभरका एनआरएनहरूलाई एनआरएनएको साझा एजेन्डामा केन्द्रित गर्न एकजुट हुने छ।’ बैठक पछि अध्यक्ष र महासचिवको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै बैठकले अमेरिकामा गैर-नाफामुखी संस्थाको रूपमा दर्ता भएकोले आफ्नो दैनिक गतिविधि सञ्चालन जारी राख्ने, शेष घलेको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिको निर्देशन पूर्ण पालना गर्ने पनि बैठकले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।