राहतका लागि चन्दा दाताको,फोटो प्रचार पदाधिकारीहरूको
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा अगस्तमा आएको बाढीपीडितका लागि भन्दै राहत संकलन अभियान चलायो।
त्यस अभियानमा ६६ हजार १८५ अमेरिकी डलर अर्थात् करिब एक करोड पाँच लाख रुपैयाँ संकलन गरेको जनाएको छ।
रमाइलो कुरा के भने त्यहाँ दाताको नाम गोप्य राखिएको छ। अमेरिकाभर रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा नेपालमा प्राकृतिक प्रकोपमा परेकाहरूका लागि भन्दै पार्टीको आह्वानअनुसार चन्दा दिए। तर अहिले नेपाली जनसम्पर्क समिति अमेरिका अध्यक्ष मुनिन्द्र नेम्वाङको ठूलो फोटो र १७ जना च्याप्टर सभापतिहरूको फोटो राखेर प्रचार गरिएको छ।
राहतका लागि सयौँले चन्दा दिए, तर उनीहरूको पैसामा १८ जनाले आफ्नो फोटो राखेर प्रचार गरे।
भन्नाका लागि रसुवास्थित भोटेकोशी बाढीपीडितको सहयोगार्थ राहत संकलन अभियानमा सहयोग पुर्याउने च्याप्टर सभापतिहरू र च्याप्टर सभापतिमार्फत समिति तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति एकमुष्ट हार्दिक आभार एवं धन्यवाद भनिएको छ।
पार्टीको निर्देशनअनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाको आह्वानमा संकलन गरिएको एकमुष्ट राहत रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुग्ने गरी जम्मा गरिएको जनाइएको छ।
‘राष्ट्रिय विपत्तिको यस कठिन घडीमा राहत संकलन अभियानमा सक्रियतापूर्वक खटिनुहुने सम्पूर्ण च्याप्टर समितिहरू तथा च्याप्टरमार्फत स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्नुहुने प्रत्येक सहयोगी दाताप्रति नेपाली जनसम्पर्क समिति, अमेरिका हार्दिक कृतज्ञता प्रकट गर्दछ,’ नेम्वाङले लेखेका छन्।
राहत अभियानका लागि जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति विनोद भट्टको संयोजकत्वमा महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत र सदस्य श्री हरि खनाल सदस्य रहेको कमिटी नै गठन गरिएको जनाइएको छ।
तर प्रचारका लागि प्रयोग गरिएको ब्यानरमा राहत संकलन समितिका कुनै पनि व्यक्ति अटाएका छैनन्। न त चन्दा दाता नै।
रोचक कुरा, बाढीपीडितका लागि अमेरिकामा रहेका नेपाली भाषी भूटानी समुदायले पनि १ लाख १४ हजार ८७७ अमेरिकी डलर संकलन गरेका थिए। त्यो भनेको नेपाली जनसम्पर्क समितिले उठाएको भन्दा झन्डै दोब्बर हो।
नेपाली भाषी भुटानीहरू नेपालमा २० वर्षभन्दा बढी शरणार्थीका रूपमा बसेका हुन्। उनीहरूले नेपालको दुःखमा आफू पनि रोए र राहतका लागि हात अगाडि बढाए, व्यक्तिगत प्रचार खोजेनन्।
तर नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिका अध्यक्ष मुनिन्द्र नेम्वाङले भने ६६ हजार डलर राहत उठाए र आफू र १७ जना च्याप्टर सभापतिले नै दिएको झैँ गरी फोटोसहित प्रचार गरे।
मुनिन्द्र नेम्वाङ यसअघि महासचिव थिए। १२ वर्षसम्म। तीन वर्षमा हुनुपर्ने अधिवेशन १२ वर्षपछि अगस्त १४–१५ मा भर्जिनियामा भएको थियो।
जहाँ नेम्वाङ विजयी भए। नेम्वाङलाई जिताउन नेपाली कांग्रेसको सिंगो संयन्त्रको दुरुपयोग भएको आरोप उपविजेता उम्मेदवारले लगाउँदै आएका छन्।
नेम्वाङ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निकट मानिन्छन्।
नेम्वाङ सन् २०१५ मा नेपालमा गएको महाभूकम्पका लागि संकलित रकम हिनामिना परेको आरोपमा कारबाहीमा परेका व्यक्ति समेत हुन्।
भूकम्पपीडितका लागि उठाएको रकममा डामिएका नेम्वाङ यस पटक फोटो प्रचारमा देखिएका मात्र होइन, कतिपय राहत रकम आफ्नो निजी खातामा जम्मा गराएको भन्दै आलोचित समेत भएका थिए।
‘यो व्यक्तिको प्रचार होइन’
मेरिल्यान्ड च्याप्टर सभापति नेत्र केसीले यसलाई व्यक्तिको प्रचारका रूपमा लिन नहुने बताए।
‘यो व्यक्तिको प्रचार होइन, हामीले सबै दाताको नाम केन्द्रमा पठाएका छौँ। सायद सभापतिले च्याप्टर सभापतिको पहलमा भएको भनेर मेरो पनि फोटो राख्नुभएको होला। त्यहाँ च्याप्टरको लोगो राखिएको भए पनि हुन्थ्यो। आगामी दिनमा यस्ता कुरा सुधार गर्नुपर्छ।’
केसीले पोस्टरमा उल्लेख भएअनुसारको दश हजार डलर आफू एक्लैले नदिएको प्रस्ट पारे।
‘व्यक्तिगत रूपमा मैले दुई सय ५० भन्दा माथि चन्दा दिएको छु, तीन सयसम्म दिने छन्,’ केसीले भने।
उनले सबै चन्दा दाताको नाम सार्वजनिक हुने बताए।
विनोद भट्ट : ‘दिनेहरूको नाम आएन, माग्नेहरूको प्रचार भयो’
विनोद भट्टका अनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाले भोटेकोशी बाढीपीडित राहत संकलनका लागि उनको संयोजकत्वमा ‘विपद् व्यवस्थापन तथा राहत संकलन’ समिति गठन गरेको थियो।
‘हामीहरूले हाम्रा २६ वटै च्याप्टर र केन्द्रीय समितिलाई परिचालित गरी स्पष्ट निर्देशन के गरेका थियौँ भने, हाम्रा सदस्यहरू, शुभचिन्तकहरूबाट मात्र स्वेच्छिक सहयोग रकम संकलन गर्नु–गराउनु भनेका थियौँ। सोहीअनुरूप कुनै प्रचारप्रसारबिना नै राहत संकलन गर्यौँ,’ भट्टले भने।
उनका अनुसार संकलित रकम नेपाली कांग्रेसको विपद् व्यवस्थापन समितिमार्फत प्रधानमन्त्री कोषमा पठाइसकेको जानकारी प्राप्त भएको छ।
‘जहाँसम्म तपाईँको प्रश्न छ, दिनेहरूको नाम आएन भन्ने छ। हो, प्रचारप्रसार चाहिँ दिनेको भन्दा माग्नेहरूको भयो। यसलाई सकारात्मक रूपमा लिऔँ। हाम्रा च्याप्टर सभापतिजीहरूले स्वतःस्फूर्त आफूहरूले गरेको कामको प्रचार गर्नुभएको हो। हामीले सबै दाताहरूलाई धन्यवाद र आभार प्रकट गर्नै बाँकी छ, समितिको तर्फबाट,’ भट्टले भने।
राहत सहयोग गर्नेहरूको नाम सम्बन्धित च्याप्टरहरूलाई पठाइसकेको उनले बताए।
‘जहिले पनि दिनेहरू महान् हुन्छन्, माग्नेहरू होइन,’ भट्टले भने।
नेम्वाङ : ‘मैले प्रचार खोजेको होइन’
समाज टाइम्ससँगको कुराकानीमा सभापति नेम्वाङले आफूले प्रचार खोजेको नभई चन्दा उठाउन खटिएकाहरूलाई आभार व्यक्त गरेको बताए।
यद्यपि, हुने आफू निकटसँगको कुराकानीमा भूकम्प र कोभिडको समयमा आफूमाथि लागेको दाग पखाल्न यो पटक प्रचारको नयाँ शैली अपनाएको र यसलाई सामान्य लिइदिन आग्रह गरेका छन्।
‘सुधारिएको कांग्रेस’ ?
नेपाली जनसम्पर्क समितिको तेस्रो अधिवेशन सकिएको एक महिनाभन्दा बढी भयो। नेपाली कांग्रेसको १५औँ महाधिवेशन संघारमा छ। तर अहिलेसम्म अमेरिकाबाट महाधिवेशन प्रतिनिधि जाने १४ जनाको नाम सार्वजनिक गरिएको छैन।
यतिसम्म कि ती १४ जनाको छनोट कसरी हुँदै छ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन।
पार्टीले डा. राजन पन्तलाई जिम्मा दिएको भनिएको छ। तर पार्टीले के–कति अधिकार दिएको हो र १४ जना कुन पद्धतिबाट नेपाल जान्छन् भन्ने विषय अहिलेसम्म गुपचुप राखिएको छ।
यतिसम्म कि उपसभापति श्रीराम थापा र युवा उपाध्यक्ष महेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि व्यक्त गरेका छन्।
तेस्रो महाधिवेशनको हिसाब अझै सार्वजनिक गरिएन
तेस्रो महाधिवेशनको हिसाब अझै सार्वजनिक गरिएको छैन। नगदमा कारोबार भएको विषय पनि प्रश्नमा छ।
पुरानो खाताबारे अन्योल छ। आनन्द विष्ट अध्यक्ष रहँदाको खाताको पैसा अझै अन्योलमा छ। पार्टीलाई पुग्नुपर्ने रकम अझै गएको छैन।
नयाँ समितिले नयाँ खाता खोलेर चलाएको छ।
गर्नुपर्ने काम थाती राखेर अरूले दिएको चन्दा आफ्नो फोटो राखेर प्रचार गर्न अगाडि सार्ने प्रवृत्तिले जनसम्पर्क समिति अमेरिकाभित्र पारदर्शिता र जवाफदेहिताको प्रश्न थप गम्भीर बनाएको छ।
मानवीय संवेदनामा उठाइएको रकममा पनि प्रचारको राजनीति हुन थालेको हो?
राहतका लागि पैसा दिने महान् कि सभापतिहरू?














