नेपाली कांग्रेस माथि प्रश्न : वलीलाई मात्र कारबाही किन ?
पेन्सिल्भेनिया/ नेपाली कांग्रेसको निर्वाचन समितिले विदेशी पासपोर्ट बोकेर पार्टीको महासमिति बैठकमा सहभागी भएका नेपाली जनसम्पर्क समितिका नेताहरू माथि विभेदपूर्ण रवैया देखाएको पाइएको छ।
समितिले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने तर अर्को व्यक्तिका बारेमा भने मौन बसेको छ।
निर्वाचन समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति बुद्धि प्रकाश वलीलाई हटाउन सिफारिस गरे पनि त्यस्तै प्रकृतिको विषयमा बेलायतका सभापति युवराज गुरुङको विषयमा भने मौन बसेको छ ।
समाज टाइम्सले नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७–१० को बिचमा ‘क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति सदस्य !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि नेपाली कांग्रेसको निर्वाचन समितिले बुद्धि प्रकाश वली विदेशी नागरिक नै रहेको पुष्टि गर्दै उनको जनसम्पर्क समितिको सभापति पद र महासमिति तथा महाधिवेशन प्रतिनिधि हुन नपाउने व्यवस्था कार्यान्वयन गर्नका लागि केन्द्रीय कार्य समितिलाई सिफारिस गरेको थियो ।
तर, सोही समाचारमा उल्लेखित अर्का व्यक्ति महासमिति सदस्य युवराज गुरुङको विषयमा भने केही उल्लेख नगर्नुलाई जनसम्पर्क समितिहरूमा चासोको विषयमा हेरिएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट रहेकाले कारबाही नगरिएको प्रवासमा चर्चा हुने गरेको छ ।
सभापति देउवा पुत्र बेलायतमा बस्दा युवराज संरक्षकको रूपमा रहेको चर्चा हुने गर्छ । नेपालको संविधान र नेपाली कांग्रेसको विधान अनुसार विदेशी नागरिक पार्टीको कुनै पनि पदमा बस्न अयोग्य हुने व्यवस्था गरेको छ । बेलायतका युवराज गुरुङले सन् २०१२ मा त्यहीको पासपोर्ट लिएको समाचार नै सार्वजनिक भएको थियो ।
कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले भने बुद्धि प्रकाश वलीको उजुरी परेकाले कारबाहीका लागि सिफारिस गरिएको बताउँदै बेलायतका युवराजको विषयमा भने कुनै पनि उजुरी नपरेको बताए ।
खातीले उजुरी परेमा सबैको छानबिन गरेर निर्णयमा पुग्नका लागि निर्वाचन समिति सक्षम रहेको बताउँदै जनसम्पर्क समितिहरू लथालिङ्ग भएकाले उनीहरूलाई सुधार गर्ने योजनामा आफूहरू रहेको बताए ।
अहिले कांग्रेसका जनसम्पर्क समितिहरू लामो समयदेखि अस्तव्यस्त रहेकाले सबै छानबिन गरेर सङ्गठन सुदृढीकरण गर्ने योजनामा रहेको पनि खातीले बताए ।
र यो पनि…