समाज टाइम्स समाचार प्रभावः जनसम्पर्क समिति क्यानडा सभापति वली बर्खास्त
पेन्सिल्भेनिया । नेपाली कांग्रेसले जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धिप्रकाश वलीलाई बर्खास्त गरेको छ ।
माओवादी द्वन्द्वकालमा दाङबाट विस्थापित भएका वली क्यनडामा ब्यवसाय गर्दै आएका छन् । नेपाली कांग्रेस संस्थापनपक्षसँग हिमचिम बढाएका वली लामोसमयदेखि जनसम्पर्क समिति क्यानडाको नेतृत्व गर्दै आएका थिए । तर, यसबीचमा उनले क्यनडाको कार्ड लिएको थाहा पाएपछि समाज टाइम्सले ‘क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति सदस्य!’ शीषर्कमा समाचार प्रकाशित गरेको थियो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले नेपाली कांग्रेसको कुनै पनि पदमा बस्न अयोग्य हुने गरी बर्खास्त गरेको हो । वलीले सन् २०१८ मा जारी भएको क्यानेडियन पासपोर्ट प्रयोग गर्दै आएका छन् । कांग्रेसको जनसम्पर्क समितिमा बस्न पनि नेपाली नागरिक नै हुनु पर्ने बाध्यकारी व्यवस्था रहेको छ ।
उनलाई दिइएको पत्रमा भनिएको छ, “नेपाली जनसम्पर्क समिति क्यानडाको मिति १ फ्रेवअरी २०२४ को पत्रबाट प्राप्त उजुरी र उजुरी साथ संलग्न कागजातहरु अध्ययन गर्दा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (४) (१) (क) तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ३०, २०७८ को बैठकको निर्णय बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिबाट मिति मंसिर १२, २०७८ मा गरिएको परिपत्र विपरित त्यहाँ जनसम्पर्क समितिको सभापति श्री बुद्धिप्रकाश वली क्यानेडियन नागरिक भएको देखिन आएको हुदाँ विधान तथा परिपत्र अनुसार नेपाली नागरिक हुनु पर्ने वाध्यात्मक व्यवस्था प्रतिकुल देखिन आएको हुँदा निज श्री बुद्धिप्रकाश वलीलाई नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यबाट हटाउने’ निर्णय गरेको हुँदा सोही बमोजिम हुने जानकारी गराइन्छ ।
महासमितिको बैठकमा वली जस्तै बेलायतका युवराज गुरुङ पनि विदेशी पासपोर्टधारी सहभागी भएका थिए । उनको विषयमा भने निर्णय बाहिर आएको छैन ।