एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई
म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो ।
सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।
ट्रेबल उपाधि जित्ने योजनामा रहेको सिटीले यस अघि प्रिमियर लिगको उपाधि जितेको थियो । अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।