ए डिभिजन लिगमा चर्च ब्वाइजको उपाधि होड बलियो
शहिद स्मारक ए डिभिजन लिगमा शीर्षस्थानको चर्च ब्वाइज विजयी भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको २४ औं चरणको खेलमा चर्च ब्वाइजले तेस्रो स्थानमा रहेको जावलाखेल युथ क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजको जितका लागि अन्जन विष्टले एक गोल गर्दा आशिष चौधरीले दुुई गोल गरेका थिए ।
चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयको आठौं मिनेटमा अग्रता बनायो । चच ब्वाइजका लागि स्ट्राइकर अन्जन विष्टले गोल गरेका हुन् । अन्जनले पेनाल्टीमा गोल गरेका हुन् । चच ब्वाइजका रन्जित सिंहलाई जावलाखेलका खेलाडीले डिबक्समा लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टी अन्जनले प्रहार गरेका थिए । अन्जनको प्रहार पोस्टमा लागेर रिवाउन्डमा आएको बलमा उनै अन्जनले गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको चर्च ब्वाईजले खेलको अन्तिमा पाँच मिनेटमा दुई गोल गर्न सफल रह्यो । खेलको ८८ औं मिनेट र अतिरिक्त समयको तेस्रो मिनेटमा आशिष चौधरीले दुई गोल गरेका हुन् । खेलको ८८ औं मिनेटमा आशिषले कमल श्रेष्ठको पासमा गोल गरेका हुन् । त्यस्तै अतिरिक्त समयको तेस्रो मिनेटमा एरिक विष्टको फ्रिकिक प्रहारमा आएको रिवाउन्ड बलमा आशिषले व्यक्तिगत दोस्रो गोल गरे ।
जितसँगै चर्च ब्वाईजले दोस्रो स्थानमा रहेको मछिन्द्रसँग पाँच अंकको अग्रता बनाउन सफ भयो । चर्च ब्वाईजको २४ खेलबाट ४४ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको २३ खेलबाट ३९ अंक रहेको छ । तेस्रो स्थानको जावलाखेलको २४ खेलबाट ३७ अंक रहेको छ ।
शहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लव पाँचौं स्थानमा उक्लेको छ । त्यस्तै एपीएफ र थ्रिस्टार क्लवले एक एक गोलको बराबरी खेलेको छन् । शनिबार भएको खेलमा विभागिय क्लव त्रिभुवन आर्मी फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै पाँचौं स्थानमा उक्लिएको हो ।
च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन शिव सुवेदी र दिपक राज सिंहले एक एक गोल गर्दा आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल फर्काएका थिए ।
खेलको दोस्रो मिनेटमा नै सातदोबाटोले खेलमा अग्रता लिएको थियो । सातदोबाटोका लागि शिव सुवेदीले गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीले गोल गर्दै खेल बराबरीको स्थितिमा पर्याएको थियो ।आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरे ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सातदोबाटोले एक गोल गर्दै आर्मीसँग तीन अंक खोस्न सफल भयो । खेलको ६३ औं मिनेटमा सातदोबाटोका लागि पेनाल्टीमा दिपक सिंह ठकुरीले गोल गर्दै सातदोबाटोल जित दिलाए । यसअघि पहिलो हाफमा पनि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीक विषयमा सातदोबाटोले असहमति जनाउँदै मैदान छाडेको थिए । सात मिनेट खेल अवरुद्ध भएको थियो । पछि सहमति भएसँगै आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी प्रहार गरेका थिए । नवयुगको पेनाल्टी प्रहारलाई सातदोबाटोको गोलरक्षक अविशेक बरालले बचाएका थिए ।
जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ भने पराजित भएको आर्मीको समान खेलबाट ३० अंक रहेका छ ।
त्यस्तै आज भएको अर्को खेलमा थ्रिस्टार क्लव र एपीएफ फुटबल क्लव एक एक गोलको बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रिस्टारका लागि सुनिल तामाङले गोल गर्दा एपीएफका मणि कुमार लामाले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । एपीएफले एक गोलको अग्रतालाई खेलको अन्तिम पाँच मिनेट कायम गर्न नसक्दा दुई अंक गुमायो । खेलको ८६ औं मिनेटमा थ्रिस्टारका सुनिल तामाङले गोल गर्दै एपीएफसँग अंक खोस्न सफल भयो ।
बराबरीसँगै एपीएफ २४ खेलबाट ३० अंक जोड्दै सातौं स्थानम रहेको छ भने थ्रिस्टा समान खेलबाट २८ अंक सहित ११ औं स्थानमा रहेको छ ।