ट्रान्सअमेरिकन करातेको आठौं वार्षिक सभा तथा टिम छनौट ओहायोमा
पेन्सिलभेनिया,अमेरिका / ट्रान्सअमेरिकन एसोसिएशन अफ सितोरियो कराते डो (टास्क) को आठौ वार्षिक समारोह तथा टिम छनौट ओहायोमा हुने भएको छ।
टास्कले जुन दश तारिक शनिवार ओहायोको कोलम्बस रेनोल्डस्बर्गमा (E 1826 LATTIMER DR.COLUMBUS, OHIO, 43227) बिहान आठ देखि साँझ ६ बजे सम्म कार्यक्रम हुने जनाएको छ।
टास्कका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक टीआरएम्फु राईका अनुसार कार्यक्रममा स्थापना दिवस मनाउनका साथै प्रतियोगिता हुने छ।
कार्यक्रमको प्रमुख अतिथि रेनोल्डस्बर्ग सिटी काउन्सिलम्यान भुवन प्याकुरेल र विषेश अतिथिमा नेपाली करातेका संस्थापक थानेश्वर (टीएस) राई रहने छन्।
‘यो संस्था सन् २०१५ मा कोलम्वसमा नै स्थापना भएको हो,आठौं वर्षगाँठको उत्सव मनाउनाका साथै हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम छनौट पनि गर्छौ। अध्यक्ष राईले समाज टाइम्स सँग भने।
टास्क टोली चयनका लागि हुने च्याम्पियनशिपमा एक सय जना खेलाडीले भाग लिने छन्। त्यस मध्येबाट १० देखि १५ जना सम्मको टिम छनौट गरिने छ।
‘हामी सँग अहिले सिनियर खेलाडी छैनन्, जति खेलाडी छन् ती जुनियर मात्र हुन् त्यसैले अहिले जुनियर टिम मात्र छनौट हुन्छ।’ अध्यक्ष राईले भने।
राईका अनुसार ओहायो, पेन्सिलभेनिया र केन्टकीका खेलाडीले च्याम्पियनसिपमा भाग लिने छन्।
ट्रान्सअमेरिकन एसोसिएशन अफ सितोरियो कराते डो अन्तर्गत तीन राज्यको ६ स्थानमा स्कूल संचालन गरिएको छ।
पेन्सिलभेनियाको ल्यानक्यास्टर र पिट्सबर्ग, ओहायोको कोलम्बस र रेनोल्डस्बर्ग, केन्टीको ल्याजिञ्जन र लुइसभीलमा ट्रान्सअमेरिकानका कराते स्कूल संचालनमा छन्।