न्युयोर्क क्विन्स कराते च्याम्पियनसिपलाई यूएसए करातेको मान्यता
न्युयोर्क, अमेरिका / निहोन कराते डो न्युयोर्कको आयोजनामा हुदै आएको न्युयोर्क क्विन्स कराते च्याम्पियनसिपलाई यूएसए कराते महासंघले आधिकारीता दिएको छ ।
निहोन कराते डोका संचालक तथा प्रमुख प्रशिक्षक सिहान शान्त थोकर हुन् । उनी अमेरिकामा कराते स्कूल स्थापना गर्ने पहिलो नेपाली हुन्। सन् २००७ मा कराते स्कूल स्थापना गरेका थोकरले सन् २०२४ देखि च्याम्पियनसिप शुरु गरेका हुन् ।
‘एनवाईसी क्विन्स कराते च्याम्पियनसिप’ को तेस्रो संस्करण यसपटक यूएसए करातेको मान्यताप्राप्त क्वालिफाइङ प्रतियोगिताका रूपमा आयोजना हुने भयो।’ समाज टाइम्स सँगको कुराकानीमा सिहान थोकरले भने ।
प्रतियोगिता आगामी नोभेम्बर १५ मा न्युयोर्कको क्विन्सस्थित एल्मकोर युथ एन्ड एडल्ट एक्टिभिटिज सेन्टरमा हुनेछ।
यसअघिका दुई संस्करण ओपन च्याम्पियनसिपका रूपमा सञ्चालन भएका थिए। तर तेस्रो संस्करण भने यूएसए करातेको लेभल टु क्वालिफाइङ प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको आयोजक शिहान शान्त थोकरले बताए।
‘यो ओपनभन्दा फरक प्रतियोगिता हो। यूएसए करातेको क्वालिफाइङ प्रतियोगिता भएकाले यहाँ खेलाडीले प्राप्त गर्ने नतिजा र अंक महत्वपूर्ण हुन्छ,’ थोकरले भने,’किनकी यूएस ओपन र नेश्नलमा जानका लागि यो प्रतियोगिता खुड्कीला हो ।’
प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेका खेलाडीका लागि यूएसए करातेको मेम्बरसिप अनिवार्य गरिएको छ। अमेरिकाबाहिरबाट आउने खेलाडीले भने यूएसए करातेको मेम्बरसिप लिनुपर्ने छैन। उनीहरूलाई पनि प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था गरिएको थोकरले बताए।
खेलाडीको अंक बढ्ने
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्राप्त गर्ने अंकले आगामी राष्ट्रिय तथा यूएस ओपन प्रतियोगिताका लागि समेत महत्व राख्नेछ। प्रतियोगितामा पहिलो, दोस्रो वा तेस्रो हुनेलगायतका उपलब्धिका आधारमा खेलाडीको स्कोर कायम हुने थोकरले बताए।
यसैगरी रेफ्रीहरु पनि यूएसए करातेको अपडेटेट रेफ्री हुनु पर्छ । त्यस कारण रेफ्रीका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ। प्रतियोगितामा रेफ्रीले प्राप्त गर्ने अंक उनीहरूको वार्षिक मूल्याङ्कन र क्वालिफिकेसनमा जोडिनेछ। वर्षभर विभिन्न प्रतियोगिताबाट प्राप्त अंकका आधारमा उत्कृष्ट रेफ्रीलाई यूएसए करातेले सम्मान गर्ने व्यवस्था रहेको उनले बताए।
प्रतियोगितामा काता र कुमिते विधामा प्रतिस्पर्धा हुनेछ। खेलाडीले विभिन्न डिभिजनमा गरी बढीमा तीनवटा इभेन्टमा सहभागी हुन पाउनेछन्।
थोकरका अनुसार खेलाडीको दर्ता शुरु भइसकेको छ । दर्ता अघिल्लो दिन सम्म टुर्नामेन्ट इनबक्समा गर्न सकिने छ । प्रतियोगिताको दर्ता शुल्क प्रतिखेलाडी १२० अमेरिकी डलर तोकिएको छ।
ओपन प्रतियोगितामा जस्तो यसपटक नगद पुरस्कारलाई प्राथमिकता नदिइएको थोकरले बताए। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीलाई यूएसए करातेको राष्ट्रिय तथा उच्चस्तरीय प्रतियोगिताका लागि क्वालिफाइ हुने अवसर प्रदान गर्नु हो।
बाढीपीडितका लागि सहयोग संकलन
नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि प्रतियोगिताको तयारीसँगै सहयोग संकलनसमेत गरिरहेको थोकरले बताए।
नेपालमा विपत्ति आएको अवस्थामा आफूले प्रतियोगिताबाट समेत सहयोग जुटाएर नेपाल पठाउने योजना बनाएको उनले बताए। प्रतियोगिता हुने समयसम्म संकलन भएको सहयोग बाढीपीडितका लागि पठाउने उनको भनाइ छ।














