यूएस सकर फाउन्डेसन र एआरयुको सहकार्यमा फुटबल प्रशिक्षण*
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ यूएस सकर फाउन्डेसन सँगको सहकार्यमा पेन्सिलभेनियाको ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा रहेको नेपाली समुदायका लागि फुटबलको प्रशिक्षक प्रशिक्षण शिविर हुने भएको छ।
‘सकर फर सक्सेस कोच-मेन्टर ट्रेडिङ्ग’ कार्यक्रम एसियाली रेफ्युजी युनाइटेड (एआरयु) र युएस सकर फाउन्डेशनसँगको साझेदारीमा हुन लागेको हो।
प्रशिक्षणमा यूएस सकर फाउन्डेसनद्वारा तयार पारिएको ‘सफलताको लागि सकर’ कार्यक्रमको पाठ्यक्रम प्रयोग गरिने छ।
एआरयुका अध्यक्ष रबिन गुरुङका अनुसार प्रशिक्षण दुई चरणमा हुने छ। पहिलो चरणमा यूएस सकर फाउन्डेशनका प्रतिनिधिले प्रशिक्षकलाई प्रशिक्षण दिने छन्। त्यस पछि तालिम प्राप्त ति प्रशिक्षकले किन्डर गार्डेन देखि आठ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिने छन्।
प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवार (जुन तीन तारिक) ह्यारिसबर्गमा हुने छ। विद्यार्थी केन्द्रित प्रशिक्षण जुलाईबाट शुरु हुने छ र १२ हप्ता सम्म जारी रहने छ।
‘यहाँ रहेका नेपालीभाषी समुदाय जो फुटबलमा भविष्य खोज्दै छ उनीहरुका लागि यो ठूलो अवसर पनि हो।’ समाज टाइम्स सँग एआरयु अध्यक्ष गुरुङले भने,’किनकी युएस सकर फाउन्डेशन सँग हामी पहिलो पटक जोडिदै छौ र यो यात्रा निकै लामो छ।’
गुरुङका अनुसार प्रशिक्षक र मेन्टर (सल्लाहाकार) हरुलाई जेटीडी फाउन्डेसनका जुलियन (जेटी) डोर्सीले प्रशिक्षण दिने छन्।
ह्यारिसबर्गमा रहेको एआरयुको युवा केन्द्रमा शनिवार विहान ११ देखि साँझ पाँच बजे सम्म (3540 N Progress Ave, Suite 203, Harrisburg, PA 17110) कार्यक्रम हुने छ।
१८ वर्ष माथिका इच्छुक जोकोहीले पनि प्रशिक्षक प्रशिक्षणमा कार्यक्रममा भाग लिन पाउने छन्। ‘मुख्यतय ग्रेटर ह्यारिसबर्गमा रहेका नेपालीभाषी समुदाय नै हाम्रो पहिलो प्राथमिकता हो तर अन्यले पनि भाग लिन पाउछन्’ अध्यक्ष गुरुङले भने।
कार्यक्रममा भाग लिन इच्छुकले (contact@asianrefugees.org) मा सम्पर्क गर्नु पर्ने छ।
‘मुख्यतय सकर स्किल, सँग सँगै न्युट्रेशन, सोसल इमोशनल लर्निङ्ग, टिम विल्डिङ्ग, टिम वर्क कसरी गर्ने, लिडरसिप क्षमता कसरी बढाउने भन्ने बारेमा नै यो प्रशिक्षण केन्द्रित रहन्छ।’ एआरयु अध्यक्ष गुरुङले भने।
यूएस सकर फाउन्डेसनले १२ हप्ताको एक सिजन बनाएको छ। एक हप्तामा तीन सेशन हुने छ। एक सेशन एक घण्टाको हुने छ।
अध्यक्ष गुरुङका अनुसार अहिले सम्म प्रशिक्षक प्रशिक्षणका लागि १२ जनाको दर्ता छ, १५ जना पुर्याउने लक्ष्य छ राखिएको छ, बढीमा २५ जना सम्मको सिट हुने छ। ती मध्ये १५ जनालाई यूएस सकर फाउन्डेशनले केही सुविधा दिने छ।
फाउन्डेशन र एआरयुको सहकार्यमा यो पहिलो कार्यक्रम भएको अध्यक्ष गुरुङको भनाई छ।
‘फाउन्डेशनले पाठ्यक्रम दिने भयो। एआरयुले प्रशिक्षक, विद्यार्थी लगायतका जनशक्ति खोज्ने र कार्यक्रम चलाउने हो।’ एआरयु अध्यक्ष रबिन गुरुङले भने। ‘भोलीका दिनमा अमेरिकामा फुटबलमा भविश्य खोज्नेहरुका लागि यो ठूलो कार्यक्रम हो, यो प्रवेसद्वार नै हो।’
प्रशिक्षण लिएका प्रशिक्षक एआरयु अन्तर्गत हुने छन्। ‘यो कार्यक्रम राम्रो सँग चलाउन सकियो भने हाम्रो समुदायका लागि मार्ग देखाउछ। हाम्रा नानीहरुमा फुटबलको ठूलो लगाव छ। भोली फुटबल नखेल्दा पनि कोच मेन्टर कसरी हुने भन्ने पनि सिकाउछ।’ अध्यक्ष गुरुङले भने।