क्यालिफोर्नियामा एक भारतीय युवा जसले महिलाको हत्या गरेर आफैंलाई गोली हान्ने
साक्रामेन्टो, क्यालिफोर्निया / अमेरिकाको क्यालिफोर्नियामा भारतीय मुलका एक युवाले दर्दानक घटना घटाएका छन् । २२ वर्षीया युवाले आफुले केही समय देखि पिछा गरेको ३८ वर्षीया महिलालाई लखेटी लखेटी गोली हानी हत्या मात्र गरेन भाग्ने क्रममा आफैलाई त्यही बन्दुकको सिकार बनाएका छन्।
स्याक्रामेन्टो काउन्टी शेरिफको कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार सेप्टम्बर ८ तारिख ३८ वर्षीया शालिनी ठाकुरको गोली हानी हत्या गरेपछि २२ वर्षीय भारतीय युवा रोहित रोहितले प्रहरीको घेराबन्दीबीच आफैंलाई गोली हानी ज्यान गुमाएका छन्।
प्रहरीले हत्या गरिएकी महिलाको राष्ट्रियता भने खुलाएको छैन् । हत्या हुनुअघि रोहितले ती महिलालाई महिनौँदेखि पछ्याउँदै, निगरानी गर्दै र धम्क्याउँदै आएको स्थानीय प्रहरी अनुसन्धानबाट खुलेको छ।
सेप्टेम्बर ८ मा साक्रामेन्टोको हाउ एभेन्यु र नर्थरप एभेन्यु नजिकै रहेको सपिङ सेन्टरमा रहेको पनेरा ब्रेडको पार्किङ क्षेत्रमा घटना भएको हो। साक्रामेन्टो काउन्टी शेरिफ कार्यालयका अनुसार रोहित दिउँसो करिब ३ बजेअघि नै पार्किङमा पुगेका थिए। केही समयपछि ठाकुर आफ्नो काममा जान त्यहाँ आइपुगेपछि रोहितले उनलाई रोकेर विवाद गर्न थाले।
ठाकुर भाग्न खोजेपछि रोहितले उनलाई पछ्याउँदै बन्दुक निकाली पटक–पटक गोली चलाएको प्रहरीको भनाइ छ। गोली लागेर ठाकुर भुइँमा ढलेपछि रोहितले नजिकै पुगेर उनको टाउकोमा समेत गोली हानेको अनुसन्धानकर्ताहरूले बताएका छन्। ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।
हत्या हुनुअघि महिनौँसम्म स्टकिङ
प्रहरीका अनुसार यो अचानक भएको घटना थिएन। प्रहरीका अनुसार रोहितले ठाकुरलाई कम्तीमा जनवरी २०२६ देखि पछ्याउँदै आएका थिए।
ठाकुरले जनवरीमा आफ्नो कारको हुडमुनि एप्पलको ‘एयरट्याग’ फेला पारेकी थिइन्। त्यसपछि अनुसन्धानका क्रममा रोहितले उनको गाडीको टायरको हावा निकाल्ने र उनी काममा पुगेपछि सहयोग गर्ने बहाना गर्दै पछ्याउने गरेको खुलेको प्रहरीले जनाएको छ।
अर्को घटनामा रोहितले ठाकुरको अपार्टमेन्टको चाबीको प्रतिलिपि प्राप्त गरेर उनी सुतिरहेका बेला घरभित्र प्रवेश गरेको पनि प्रहरीको भनाइ छ। बिहान थाहा पाएपछि ठाकुरले सो विषयमा प्रश्न गर्दा रोहितले आफूले उनको अवस्था ठीक छ कि छैन भनेर चिन्तित भएर घरभित्र प्रवेश गरेको दाबी गरेको प्रहरीले जनाएको छ।
अदालतमा रोक आदेश मागेकी थिइन् ठाकुरले
हत्या हुनुभन्दा महिनौँअघि नै ठाकुरले रोहितविरुद्ध अदालतमा नागरिक उत्पीडनसम्बन्धी रोक आदेश मागेकी थिइन्।
अदालतको कागजातअनुसार ठाकुरले स्टकिङ सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएको र त्यसको आवृत्ति तथा गम्भीरता क्रमशः बढ्दै गएको उल्लेख गरेकी थिइन्।
उनले रोहितले आफ्नो गाडीमा ट्र्याकिङ उपकरण राखेको, टायरको हावा निकालिएको तथा आफूलाई विवाहका लागि दबाब दिएको आरोप लगाएकी थिइन्। अदालतको फाराममा हतियार प्रयोग वा प्रयोग गर्ने धम्कीसम्बन्धी प्रश्नमा उनले ‘हो’ भन्ने विकल्प रोज्दै रोहितले आफूले विवाह नगरे आफूलाई वा आफूले भेट्ने अन्य व्यक्तिलाई गोली हान्ने धम्की दिएको उल्लेख गरेकी थिइन्।
मे महिनामा अदालतले रोक आदेश जारी गरेको थियो। रोहितलाई मे १९ मा त्यससम्बन्धी कागजात बुझाइएको अदालतको अभिलेखमा उल्लेख छ।
तर त्यसपछि पनि समस्या रोकिएन। जुलाई २९ मा ठाकुरले रोहितले रोक आदेश उल्लंघन गर्दै आफ्नो घरको ढोकामा विभिन्न किराना सामान छाडेको भन्दै प्रहरीमा जानकारी दिएकी थिइन्।
साक्रामेन्टो काउन्टी शेरिफ कार्यालयका सार्जेन्ट अमर गान्धीका अनुसार ठाकुरले सुरुमा आपराधिक मुद्दा अघि बढाउन वा रोक आदेश लिन नचाहे पनि प्रहरीले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै निरन्तर सम्पर्कमा राखेको थियो। मे महिनामा प्रहरीले पुनः रोक आदेश लिन आग्रह गरेपछि उनले त्यसका लागि प्रक्रिया अघि बढाएकी थिइन्।
हत्या गरेपछि हाइवेमा प्रहरीसँग घेराबन्दी
हत्या गरेपछि रोहित गाडीमा भागेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले उनको गाडीको विवरण प्रहरीलाई दिएका थिए।
शेरिफ कार्यालयका अनुसार उक्त गाडीको विवरण ‘फ्लक’ स्वचालित लाइसेन्स प्लेट रिडर प्रणालीमा प्रविष्ट गरिएको थियो। केही मिनेटमै गाडीको पछिल्लो स्थान पत्ता लाग्यो र क्षेत्रीय यातायात प्रहरीका अधिकारीहरूले हाइवे ५० नजिकै गाडी फेला पारे।
प्रहरीले गाडी रोक्ने प्रयास गरेपछि रोहितले ब्रेक लगाएर हाइवेमा गाडी रोकेका थिए। केही समयसम्म प्रहरीले उनलाई गाडीबाट बाहिर निस्कन आग्रह गरे पनि अन्ततः उनी गाडीभित्रै मृत अवस्थामा फेला परे। प्रहरीका अनुसार उनको मृत्यु आफैंले चलाएको गोलीका कारण भएको देखिएको छ। घटनाका कारण हाइवे ५० को उक्त खण्ड केही घण्टा बन्द गरिएको थियो।
डीएचएसले बाइडेन प्रशासनलाई दोषी ठहरायो
घटनापछि अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले भने यसलाई आप्रवासन नीतिसँग जोडेको छ। डीएचएसले सेप्टेम्बर ११ मा जारी गरेको वक्तव्यमा रोहितलाई भारतीय नागरिक तथा अवैध रूपमा अमेरिका प्रवेश गरेको व्यक्ति भन्दै बाइडेन प्रशासनले उनलाई अमेरिकामै रिहा गरेको दाबी गरेको छ।
डीएचएसका अनुसार रोहित अगस्ट २०२३ मा एरिजोना हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र अमेरिकी बोर्डर पेट्रोलले उनलाई पक्राउ गरेको थियो। विभागले त्यसपछि उनलाई अमेरिकामै रिहा गरिएको दाबी गर्दै यस्तो रिहाइले पछि भएको घटनाप्रति प्रश्न उठाएको छ।
डीएचएस प्रवक्ताले घटनालाई बाइडेन प्रशासनको आप्रवासन नीतिसँग जोड्दै यस्तो घटना रोक्न सकिने दाबी गरेका छन्। विभागले ‘सेन्चुरी’ नीतिका पक्षधर राजनीतिक नेताहरूले आप्रवासनसम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने तर्कसमेत गरेको छ।















