डीएचएसद्वारा ९/११ आक्रमणको २५औं वार्षिकोत्सव स्मरण
वासिङ्टन / अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको २५औँ वार्षिकीका अवसरमा आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अमेरिकी भूमिको सुरक्षा र नागरिकको संरक्षणका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
२५ वर्षअघि सन् २००१ को सेप्टेम्बर ११ मा इस्लामिक आतंकवादी संगठन अल–कायदाका १९ सदस्यले अमेरिकामा उडिरहेका चार वटा व्यावसायिक विमान अपहरण गरेका थिए। उनीहरूको उद्देश्य ठुला भवनमा विमान ठोक्काएर ठूलो संख्यामा अमेरिकी नागरिकको हत्या गर्नु थियो।
अपहरण गरिएका विमानमध्ये अमेरिकन एयरलाइन्सको फ्लाइट ११ र युनाइटेड एयरलाइन्सको फ्लाइट १७५ न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका ट्विन टावरमा ठोक्काइएका थिए। अमेरिकन एयरलाइन्सको फ्लाइट ७७ भर्जिनियास्थित पेन्टागनमा ठोक्काइएको थियो। अर्को विमान युनाइटेड एयरलाइन्सको फ्लाइट ९३ भने यात्रुहरूले अपहरणकारीविरुद्ध प्रतिकार गरेपछि पेन्सिल्भेनियाको शान्क्सभिलमा खेतमा खसेको थियो।
ती आक्रमणमा २ हजार ९ सय ७७ अमेरिकी नागरिकको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए।
आक्रमणपछि अमेरिकी सरकारले होमल्यान्ड सुरक्षासम्बन्धी नयाँ संरचना आवश्यक ठहर गर्दै सन् २००२ मा होमल्यान्ड सेक्युरिटी ऐन पारित गरेको थियो। सोही ऐनअनुसार सन् २००३ मार्च १ मा मन्त्रिपरिषद् तहको नयाँ संघीय निकायका रूपमा होमल्यान्ड सेक्युरिटी विभाग स्थापना भएको हो।
डीएचएसको मुख्य उद्देश्य अमेरिकी भूमिको सुरक्षा गर्नु, अमेरिकी नागरिकको संरक्षण गर्नु तथा अमेरिकी जीवनपद्धतिको रक्षा गर्नु रहेको विभागले जनाएको छ।
डीएचएस सचिव मार्कवेन मुलिनले ९/११ को २५औँ वार्षिकीका अवसरमा जारी गरेको वक्तव्यमा उक्त दिनलाई अमेरिकी इतिहासकै सबैभन्दा अँध्यारा दिनमध्ये एकका रूपमा स्मरण गरेका छन्।
“२५ वर्षअघि आजकै दिन हाम्रो संसार सधैँका लागि बदलियो। ९/११ इतिहासकै सबैभन्दा अँध्यारा दिनमध्ये एक हो,” मुलिनले भनेका छन्। उनका अनुसार करिब ३ हजार अमेरिकीको ज्यान लिने उद्देश्यसहित भएको उक्त आक्रमणले अमेरिकालाई कमजोर बनाउने प्रयास गरे पनि त्यस दिन अमेरिकी भावना र साहस झन् बलियो भएर उभिएको थियो।
उनले आगलागी भएका भवनभित्र प्रवेश गरेर अरूको जीवन बचाउन आफ्नो ज्यान जोखिममा राख्ने पहिलो उद्धारकर्तादेखि फ्लाइट ९३ मा अपहरणकारीविरुद्ध प्रतिकार गर्ने यात्रुसम्मको साहसलाई अमेरिकी इतिहासको असाधारण उदाहरणका रूपमा स्मरण गरेका छन्।
मुलिनले ९/११ को स्मरण केवल ज्यान गुमाउनेहरूलाई सम्झनका लागि मात्र नभई भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन आवश्यक सुरक्षा जिम्मेवारीलाई निरन्तर सम्झिरहनका लागि पनि हुनुपर्ने बताएका छन्।
“हामीले ९/११ सम्झँदा प्रायः ‘कहिल्यै नबिर्सौं’ भन्छौँ। त्यस दिन ज्यान गुमाएका करिब ३ हजार मानिसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन,” उनले भनेका छन्। उनले फेरि त्यस्तै खतरा आउन सक्ने सम्भावना र नागरिकको सुरक्षाका लागि जिम्मेवारीसमेत कहिल्यै बिर्सन नहुने बताएका छन्।
डीएचएस स्थापनाको २५ वर्ष पूरा हुँदै गर्दा विभागको सुरक्षा अभियान अझै जारी रहेको मुलिनले बताएका छन्। उनले आफू अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागको नवौँ सचिवका रूपमा सेवा गर्न पाउनु सम्मानको विषय भएको उल्लेख गर्दै विभागमा २ लाख ६० हजारभन्दा बढी कर्मचारी अमेरिकी जनताको सुरक्षाका लागि कार्यरत रहेको बताए।
“हाम्रो शरीरमा जीवन र हृदयमा माया रहेसम्म हामी कहिल्यै बिर्सने छैनौँ,” मुलिनले वक्तव्यको अन्त्यमा भनेका छन्।















