नेपालमा बाढीपीडितको उद्धारका लागि ह्यारिसबर्ग गोर्खाज भलिबल क्लबद्वारा २ हजार डलर सहयोग
ह्यारिसबर्ग, पेन्सिल्भेनिया । नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अमेरिकाको पेन्सिल्भेनियास्थित ह्यारिसबर्ग गोर्खाज भलिबल क्लबले २ हजार अमेरिकी डलर सहयोग गरेको छ।
क्लबका खेलाडी, पदाधिकारी तथा आबद्ध सदस्य र साथीभाइबाट संकलन गरिएको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरिएको क्लबले जनाएको छ। २ हजार अमेरिकी डलर करिब २ लाख ६५ हजारभन्दा बढी नेपाली रुपैयाँ बराबर हुन्छ।
नेपालमा बाढी तथा पहिरोबाट जनधनको क्षति भएपछि क्लबले आपत्कालीन सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। खेलकुदसँगै सामाजिक गतिविधिमा समेत सक्रिय क्लबले आफ्ना खेलाडी तथा नजिकका सहयोगीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री कोषमा पठाएको हो।
क्लबका टिम कप्तान शंकर बीसीले विपद्को समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।
“हामी शरीरले सात समुद्रपारि भए पनि हाम्रो मन, मुटु र भावना सधैं नेपालमै छ,” बीसीले भने, “बाढी र पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौं।”
उनले संकलित रकम संकटको समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग हुने विश्वास व्यक्त गरे।

सहयोग संकलन अभियानमा पुन, सोम तिम्सिना, राज राई, विष्णु थपलिया, दाधि सुवेदी, मनोज क्षेत्री, मनोज दर्लामी, विकास रिजाल, पूजन थापा, जितेन्द्र विश्वकर्मा, भवानी महत, शंकर बीसी, सागर विश्वकर्मा, रामु धिमाल, कमल पौडेल, यमलाल विश्वकर्मा, मित्र धिमाल, केशर गुरागाईं, तुलसी, बाला ढुङ्गाना, सुरज गुरुङ, विनोद रिजाल, कृष्ण दाहाल र कृष्ण ढुङ्गाना ‘बाबा’ लगायतको सहभागिता रहेको क्लबले जनाएको छ।
क्लबका प्रतिनिधिहरूका अनुसार संकलित रकम बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रयोग होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।
क्लबले खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ।














