एच–२बी भिसाको पहिलो चरणको कोटा पूरा, सेप्टेम्बर ४ पछि आएका आवेदन अस्वीकृत हुने
वासिङ्टन / यु.एस. सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले आर्थिक वर्ष २०२७ को पहिलो छ महिनाका लागि तोकिएको एच–२बी अस्थायी गैरकृषि कामदारको कोटा पूरा भएको जनाएको छ।
यूएससीआईएसद्वारा शुक्रवार जारी गरिएको विज्ञप्ति अनुसार पहिलो चरणमा रोजगारी सुरु हुने गरी आवेदन दिइएका एच–२बी कामदारको संख्या कांग्रेसले तोकेको ३३ हजारको सीमामा पुगेको हो। अप्रिल १, २०२७ भन्दा अगाडि रोजगारी सुरु हुने गरी नयाँ एच–२बी कामदारका लागि आवेदन बुझाउने अन्तिम मिति सेप्टेम्बर ४, २०२६ तोकिएको थियो।
सेप्टेम्बर ४ पछि प्राप्त भएका नयाँ, कोटाअन्तर्गत पर्ने एच–२बी आवेदनहरूमा अप्रिल १, २०२७ भन्दा अगाडिको रोजगारी सुरु हुने मिति माग गरिएको भए त्यस्ता आवेदन यूएससीआईएसले अस्वीकार गर्ने जनाएको छ।
अमेरिकी कानुनअनुसार एच–२बी कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा अधिकतम ६६ हजार कामदारलाई भिसा वा एच–२बी हैसियत प्रदान गर्न सकिन्छ। त्यसमध्ये ३३ हजार रोजगारी अक्टोबर १ देखि मार्च ३१ सम्म सुरु हुने कामदारका लागि र बाँकी ३३ हजार अप्रिल १ देखि सेप्टेम्बर ३० सम्म रोजगारी सुरु हुने कामदारका लागि छुट्याइएको हुन्छ।
पहिलो छ महिनाको ३३ हजारको कोटा पूरा नभएको अवस्थामा बाँकी संख्या दोस्रो छ महिनाका लागि प्रयोग गर्न सकिने व्यवस्था छ। तर पहिलो चरणमा प्रयोग नभएका संख्या अर्को आर्थिक वर्षमा भने सार्न पाइँदैन।
यूएससीआईएसका अनुसार केही एच–२बी कामदार भने यो सङ्ख्यात्मक सीमामा पर्दैनन्। अमेरिकामा एच–२बी हैसियतमा रहेका र आफ्नो बसाइँ विस्तार गर्ने, रोजगारदाता परिवर्तन गर्ने वा रोजगारीका सर्त परिवर्तन गर्ने कामदार सामान्यतः कोटाअन्तर्गत पर्दैनन्। त्यस्तै, सोही आर्थिक वर्षमा पहिले नै कोटामा गणना भइसकेका कामदारलाई रोजगारदाताले सम्बन्धित निवेदनमा उल्लेख गरेको अवस्थामा पुनः कोटामा गणना गरिँदैन।
एच–२बी कामदारका पति वा पत्नी तथा सन्तानलाई प्रदान गरिने एच–४ गैर आप्रवासी हैसियत पनि उक्त कोटामा गणना हुँदैन।
त्यसैगरी, माछाको अण्डा प्रशोधन गर्ने कामदार, माछाको अण्डा प्राविधिक तथा त्यस्ता कामको सुपरभाइजरका लागि दायर गरिने निवेदन र ३१ डिसेम्बर २०२९ सम्म नर्दर्न मारियाना आइल्यान्ड्स वा गुआममा श्रम वा सेवा गर्ने कामदारका निवेदन पनि एच–२बी कोटाबाट छुट हुने यूएससीआईएसले जनाएको छ।
यूएससीआईएसले एच–२बी कार्यक्रमसँग सम्बन्धित सम्भावित ठगी वा दुरुपयोगबारे अमेरिकी कामदार तथा एच–२बी कामदारसहित जोसुकैले अनलाइनमार्फत उजुरी वा सूचना दिन सक्ने जनाएको छ।















