एनआरएनए अध्यक्ष कुल आचार्य बेलायतको साधरण सदस्यबाट निश्कासित
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुल आचार्य बेलायतमा कारवाहीमा परेका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युकेले आचार्यको साधारण सदस्यता खारेज गरेको जनाएको छ।
एनआरएनए युकेको सेप्टेम्बर १६, २०२२ बिहिवार बसेको आकस्मिक बैठक तथा भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो। आचार्य एनआरएनए युकेका पुर्व अध्यक्ष समेत हुन्।
अघिल्लो साता मात्र आइसीसीमा महासचिवद्वय गौरी जोशी र डाक्टर केशव पौडेलले युकेका अध्यक्ष प्रेम गहा मगरलाई पदमुक्त भएको पत्र पठाएका थिए। यो पनि हेर्नु होस् (विधान पढ्दैनन् एनआरएनए पदाधिकारी !)
आइसीसीको महाअधिवेशन पछि एनआरएन यूके ठूलै विवादको भूमरीमा फसेको छ। आइसीसीको महाधिवेशन अगाडि आचार्य र मगर ‘कलिङ काठमाडौं’ अभियानमा सँग सँगै थिए। तर फर्कदा आचार्य संस्थापन पक्षको अध्यक्ष भए, मगरले तत्कालिन मुख्य संरक्षक शेष घलेको टिममा बसे।
अघिल्लो महिना यूकेको साधरण सभामा मगरले शेष घलेलाई नै प्रमुख अथिति बनाएका थिए। सो साधरण सभालाई बहुमत कार्यसमिति सदस्यले बहिस्कार गरेका थिए।
साधरण सभा बहिस्कार गरेका पदाधिकारीले मगरलाई अध्यक्षबाट हटाएको भन्दै त्यसको अनुमोदनका लागि आइसीसीलाई पत्र पठाएका थिए। सोही पत्रको जवाफ महासचिव जोशी र पौडेलले दिएका थिए।
महासचिवद्वयको पत्र पछि एनआरएनए यूके फुटाउन आचार्यले भूमिका खेलेको भन्दै कारवाही गरिएको जनाइएको छ।
युकेका प्रबक्ता भरतमणी चोङबाङले आचार्यलाई एनआरएनए युके दर्ता भएको च्यारिटी कमिशन र एनआरएनए युकेको विधान धारा ४१ अनुसार साधारण सदस्यबाट समेत नरहने गरी हटाइएको बताए।