विधान पढ्दैनन् एनआरएनए पदाधिकारी !
पेन्सिलभेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) संयुक्त अधिराज्य(युके)का अध्यक्ष प्रेम गहा मगरलाई पदमुक्त गरेको छ । तर, कुन धरातलमा टेकेर आइसीसीले पदमुक्त गरेको हो भन्ने खुलेको छैन ।
एनआरएनए आइसीसीका महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा एनसीसी युकेको विधानको धारा ४१ अनुसार कारबाही सिफारिस भएको उल्लेख छ । सोही अनुसार अनुमोदन गरिएको भनिएको छ । आइसीसीको विधानको कुन धारा प्रयोग गरेर पदमुक्तको निर्णय गरियो भन्नेमा पत्र मौन छ । त्रुटीपूर्ण पत्रका आधारमा एनसीसी युकेका अध्यक्ष मगरले पद छोड्न कि नछोड्ने ?
आइसीसीले सदस्य रहेका एनसीसीका अध्यक्षलाई कारबाही गर्दा आफ्नो विधानका धारा टेकेर पत्राचार गर्नुपर्ने थियो । तर, पत्रमा एनसीसीको विधान उल्लेख छ तर आइसीसीको विधानबारे पत्तोअत्तो छैन ।
हेर्नुहोस् आइसीसीको पत्र
विश्वका गैरआवासीय नेपालीको नेतृत्व लिएका आइसीसी पदाधिकारी यस्ता निर्णय लिँदा चुक्ने गरेका छन् । एनसीसीको निर्वाचित अध्यक्षलाई आइसीसीले सोझै निलम्वन वा पदमुक्त गर्न सक्छ ? विधानत: सक्दैन । विधान अनुसार आइसीसीले एनसीसी सँगको सम्वन्धन तोड्न सक्छ, विगठन गर्न सक्छ तर सोझै पदाधिकारी हटाउन सक्दैन।
हेर्नुहोस आइसीसीको विधान
त्यसैले मगरलाई पत्राचार गर्दा कम्तिमा आइसीसी विधानको धारा २५(३) अनुसार अनुमोदनको पत्र पठाउनुपर्ने थियो । तर, आइसीसी पदाधिकारीसँग विधानको समेत ज्ञान नभएको स्पष्ट देखिएको छ ।
आफूले नपढेपछि पदाधिकारीले कम्तिमा कानुनी सल्लाहकारसँग राय लिन सक्ने थिए । उसो त, नेपालमा मनग्य पैसा दिएर राखिएका सिइयोलाई अध्ययन गर्न लगाउन पनि सक्थे । तर, उनीहरुले अघिपछि नसोच्दा संस्थाको गरिमा कमजोर बनेको आरोप लाग्दै आएको छ । धेरैको टिप्पणी छ, ‘कार्यसमितिका विद्धानहरु नेता हुन्छन् तर न विधान पढ्छन् न त सल्लाह लिएर परिपक्व निर्णय गर्छन् ।’
आइसीसी विधानको धारा २५ (३)मा के छ हेर्नुहोस्
आइसीसीका महासिचवद्वयले पनि अप्रत्यक्षरुपमा त्रुटी स्वीकारेका छन् । पटक पटकको प्रयास पछि समाज टाइम्सको सम्पर्कमा आएका महासचिव गौरी जोशीले अध्यक्ष कुल आचार्यको संयोजकत्वको समितिको प्रतिवेदनका आधारमा निर्णय गरिएको बताए । जोशीले भने, ‘संस्था चलाउँदा कतिपय कुराहरु बाधाअड्काउ फुकाउनुपर्ने हुँदो रहेछ ।’
अर्का महासचिव डा. पौडेलले सबै प्रक्रिया पुरा गरेर आएको विषय अनुमोदन गरेको बताए । ‘एनसीसी स्वायत्व हुनुपर्छ भनेर आवाज उठाउने म नै हो । तर, यो विषयमा साथीहरुले प्रक्रिया पुरा गरेर पठाएको विषयलाई हामीले अनुमोदन गरेका हौ ।’
एनसीसी युकेको विधान : जतिबेलै पद धराप
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युकेको विधान अनौठो छ । विधानको एउटा व्यवस्था अनुसार सयौँ सदस्यबाट निर्वाचित पदाधिकारी सामान्य अवस्थामा पनि पदमुक्त हुने अवस्था छ ।
एनसीसी युकेको विधानमा कुनै पनि पदाधिकारी र सदस्यलाई सामान्य अवस्थामा नै हटाउन सकिने व्यवस्था छ । सो व्यवस्था अनुसार कार्यसमितिमा उपस्थित सदस्यको समान्य बहुमतले पनि निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्न सक्छ ।
यस्तो छ विधानको व्यवस्था:
स्मरणिय कुरा के छ भने आइसीसीको विधान सँग मेल नखाएको भन्दै एनसीसी अमेरिकाको विधानलाई संसोधन गर्न बाध्य पारिएको छ। अनि आइसीसीले आफ्नो विधान अनुसार कामकारवाही गर्ने हो भन्दै यस अगाडि एनसीसी अमेरिकाले पठाएको महाधिवेशन प्रतिनिधिको नामलाई आइसीसीले अस्वीकार गरेको थियो।
अमेरिकाले आफ्नो विधान अनुसार प्रतिनिधिको नामवाली पठाउदा हाम्रो विधान अनुसार भएन भन्ने आइसीसीले अहिले आफ्नो विधानमाथि आँखा चिम्लिएर युके विकान अनुसार कारवाही अगाडि बढाउन मिल्छ ?
अनि एनसीसी युकेको विधान आइसीसी सँग मिल्नु पर्दैन ?