ह्यारिसवर्गमा ‘माउन्ट एभरेष्ट रेस्टुरेन्ट’ द्वारा तीज पार्टीको आयोजना, सङ्कलित रकम नेपालका बाढीपीडितलाई सहयोग गरिने
ह्यारिसवर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिलभेनियाको राजधानी ह्यारिसवर्गमा रहेको ‘माउन्ट एभरेष्ट नेपाली एण्ड इन्डियन कुजिन’ यस वर्षको तीजमा पनि कार्यक्रम आयोजना गर्ने भएको छ ।
रेस्टुरेन्टका संचालक श्री पुनले सेप्टेम्बर १२ तारिख शनिवार साँझ ‘तीज पार्टी’ आयोजना गर्ने जानकारी दिए । कार्यक्रम बेलुका ५:३० बजेदेखि राती १०:०० बजेसम्म ह्यारिसबर्ग डाउन टाउनको स्ट्रबेरी स्क्वायर (19 N 3rd St, Harrisburg, PA 17101) मा सञ्चालन हुनेछ।
आयोजकका अनुसार यस तीज महोत्सवमा सहभागी हुने पाहुनाहरूका लागि उत्कृष्ट सङ्गीत, स्वादिष्ट भोजन र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई उत्कृष्ट तीजको अनुभूति गराउनेछ।
रेस्टुरेन्टका संचालक पुनका अनुसार तीजका अवसरमा विषेश कार्यक्रम गर्न लागिएको यो दोस्रो पटक हो ।’
‘ह्यारिसबर्गको डाउन टाउनमा नेपाली संस्कृति पुर्याउन हामीले गत वर्ष देखि यो कार्यक्रम शुरु गरेका हौ,पुनले भने, ‘यस पटक हामीले मनोरञ्जन मात्र होइन मानवीय कार्यमा सहयोग पुर्याउने उद्देश्य पनि राखेका छौ।’ ।
उनका अनुसार कार्यक्रमबाट सङ्कलन हुने खुद नाफा नेपालमा बाढी पहिरो प्रभावितहरूको उद्धार, राहत र पुनरुत्थानका लागि नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
कार्यक्रममा प्रत्येक वयस्कको प्रवेश शुल्क २० डलर तोकिएको छ, जसमध्ये कम्तिमा ५ डलर सिधै नेपालको बाढी राहत कोषमा योगदान हुनेछ। त्यसै गरी ७ देखि १२ वर्षका बालबालिकाका लागि १० डलर टिकट शुल्क राखिएको छ भने ७ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
कार्यक्रमका लागि सीमित टिकटहरू मात्र उपलब्ध भएकाले आयोजकले सबैलाई समयमै आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन्।
इच्छुक सहभागीहरूले पोस्टरमा दिइएको क्युआर कोड स्क्यान गरी फारम भरेर अनलाइनमार्फत आफ्नो टिकट सुरक्षित गर्न सक्नेछन् भने केही सीमित टिकटहरू कार्यक्रम स्थलको ढोकामा पनि खरिद गर्न सकिनेछ।
कार्यक्रममा आउने आगन्तुकहरूको सुविधाका लागि बेलुका ५:०० बजेपछि सडक पार्किङ पूर्ण रूपमा निःशुल्क उपलब्ध हुने जनाइएको छ ।














