पेन्सिल्भेनिया नेपाली गुठीमा ९७ वर्षीया ज्येष्ठ नागरिकको हातबाट दशैँ टीका
मन्टगोमरी, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया नेपाली गुठी एसोसिएसनले शनिवार दशैँ टीका कार्यक्रम सम्पन्न गरेको छ ।
मन्टगोमरी काउन्टीको जर्मन टाउन पाइकस्थित आफ्नै कार्यालयमा आयोजित दशैँ टीका कार्यक्रममा सहभागी नेपाली समुदायका सदस्यहरूले ९७ वर्षीया ज्येष्ठ नागरिक नोर्गीन डोल्मा मोक्तानको हातबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका थिए।
आफ्ना घरपरिवारमा दशैँ मनाइसकेका समुदायका सदस्यहरूसँगै एकै ठाउँमा भेला भएर टीका तथा आशीर्वाद आदानप्रदान गर्न कार्यक्रममा सहभागी भएका थिए।
अमेरिकामा नेपाली चाडपर्व र संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले आपसी भेटघाट, शुभकामना आदानप्रदान र सामूहिक भोजसँगै दशैँ मनाएका थिए।
गुठीका संस्थापक तथा सल्लाहकार विनोद मोक्तानले नेपाली चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक परम्पराका साथै आपसी एकता, भाइचारा र आत्मीयताका प्रतीक भएको बताए। उनले गुठीले दशैँ–तिहारमा मात्र नभई नेपालमा मनाइने अन्य प्रमुख चाडपर्वहरूलाई पनि महत्वका साथ मनाउँदै आएको उल्लेख गरे।
मोक्तानले नेपाली भाषा, कला, संस्कृति, रीति रिवाज तथा परम्पराको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको बताए। नेपाली संस्कृति नै आफ्नो पहिचान भएको उल्लेख गर्दै उनले गुठीलाई अझ सशक्त बनाउँदै भावी पुस्ताका लागि प्रेरणादायी संस्था बनाउन सबैलाई एकजुट भएर लाग्न आग्रह गरे।
गुठीको आफ्नै भवन सबै समुदायको साझा घर भएको बताउँदै उनले भवनको संरक्षण र संस्थाको विकासका लागि सबैले आ–आफ्नो क्षमताअनुसार भौतिक तथा आर्थिक सहयोग गर्न पनि अनुरोध गरे।
गुठीका अध्यक्ष नवराज ढकालले कार्यक्रममा उपस्थित सबैलाई दशैँको शुभकामना व्यक्त गर्दै सहभागी तथा सहयोगीहरूप्रति आभार प्रकट गरे। उनले कार्यक्रमलाई उल्लासमय बनाउन खानपिनलगायत विभिन्न पक्षमा योगदान पुर्याउने सदस्य तथा नेपाली व्यवसायीहरूलाई धन्यवाद दिए।
साथै, समुदायका सदस्यहरू भेला भएर कार्यक्रम गर्दा स्थानीय वातावरण र अनुशासनलाई ध्यानमा राख्दै रमाइलो गर्न उनले आग्रह गरे।
कार्यक्रमको अर्को विशेषता सामूहिक भोज थियो। भोजका लागि गुठीका सदस्यहरूले आ–आफ्नो घरबाट विभिन्न परिकार ल्याएका थिए। कसैले भात, कसैले मासु, कसैले सेल रोटी त कसैले अचार ल्याएर सामूहिक भोजको व्यवस्था गरेका थिए।
अध्यक्ष ढकालका अनुसार एक घरपरिवारबाट एक परिकार ल्याउने यो व्यवस्था गरिएको थियो । यसले सदस्यहरूबिच सहकार्य र आत्मीयता बढाउनुका साथै कार्यक्रम आर्थिक रुपमा पनि किफायती हुने ढकालको भनाई थियो ।
पेन्सिल्भेनियामा नेपाली समुदायका पुराना तथा सक्रिय संस्थामध्ये एक गुठीले नेपाली चाडपर्व, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा काम गर्दै आएको छ।
चार लाख अमेरिकी डलरभन्दा बढी रकममा खरिद गरिएको आफ्नै भवन रहेको संस्थाले नेपाली भाषा कक्षासहितका गतिविधिमार्फत नयाँ पुस्तामा नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्ने प्रयास गर्दै आएको छ।
















