सुदूरपश्चिम समाज भर्जिनियाद्वारा बाढी पीडितका लागि ११ लाख १ हजार रुपैया सहयोग
भर्जिनिया / नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको भर्जिनियामा रहेको सुदूरपश्चिम समाज भर्जिनिया ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै समाजले विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
बाढीपहिरोमा आफ्ना प्रियजन गुमाएका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समाजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीका कारण गाँस, बास र सर्वस्व गुमाएका नेपाली परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी सरकारको राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
समाजले सहयोग अभियानमा सहभागी भई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्ने भर्जिनियावासी सुदूरपश्चिमेली समुदाय तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ। विपत्तिको समयमा समुदायले देखाएको एकता, आत्मीयता र सहयोगको भावना प्रशंसनीय रहेको समाजको भनाइ छ।
सुदूरपश्चिम समाज भर्जिनियाका संस्थापक अध्यक्ष कल्याण कार्कीले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।














