अमेरिका निवासी खड्काद्वारा नेपालमा बाढीपीडित कोषमा तीन लाख सहयोग
न्यू योर्क / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य महेशकुमार खड्काले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन्।
खड्काले अमेरिकाको न्यू योर्कबाट उक्त रकम गैर आवासीय नेपाली संघ आपत्कालीन कोष, त्रिपुरेश्वर, काठमाडौँको खातामा जम्मा गरेका हुन्।
अगस्ट २५ मा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा सुरक्षित पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको खड्काले बताएका छन्।
उनले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका पदाधिकारी तथा सदस्य, विश्वभर रहेका गैर आवासीय नेपाली, विभिन्न संघ-संस्था तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन्।
‘मातृभूमि विपत्तिमा परेको यस कठिन घडीमा पीडित परिवारको साथमा उभिनु हामी सबैको साझा मानवीय दायित्व हो,’ खड्काले भने, ‘विश्वभर रहेका नेपालीलाई एकताबद्ध भएर राहत तथा पुनर्स्थापनामा सक्दो सहयोग गर्न आग्रह गर्दछु।’














