समुदायमा गरिने स्वयंसेवी सेवाको कुनै सीमा हुँदैन : डा. खेम अधिकारी
मलाई कहाँबाट सुरु गरौँ भन्ने नै थाहा छैन। म केवल सन् १९९२ को त्यो समय सम्झिरहेको छु, जब मानिसहरू माईधारमा थिए। जब हामीसँग कुनै संस्थाहरू थिएनन्, जब हामी खाना र लुगा खोजिरहेका थियौँ। हामीसँग कुनै संस्था थिएन, सबैजना संघर्ष गरिरहेका थिए र हामी जीवनको आधारभूत आवश्यकताहरू—खाना र कपडाको खोजीमा थियौँ।
माईधार शरणार्थी शिविरमा हामीले दिनमा कम्तीमा १५ देखि २० जना बालबालिकाहरू गुमाइरहेका थियौँ। मलाई आशा छ हामीमध्ये सबैलाई यो कुरा सम्झना छ। तपाईंहरूमध्ये कोही धेरै सानो हुनुहुन्थ्यो होला, कोही त सायद जन्मनुभएको पनि थिएन होला। तर हामीमध्ये केही व्यक्तिहरू त्यो दिन त्यहाँ काम गरिरहेका थियौँ।
त्यसैले संक्षिप्तमा भन्नुपर्दा, ह्यारिसबर्गको भुटानी समुदायदेखि बीसीसीपीए सम्म ह्यारिसबर्गमा संलग्न भएको यो संस्थाले विगत केही वर्षहरूमा असाधारण काम गरेको छ जस्तो मलाई लाग्छ। जब म २०१६ मा ह्यारिसबर्ग आएँ, त्यहाँ एउटा संस्था त थियो तर हामी आएर स्वयंसेवा गर्न सक्ने मानिसहरूको खोजीमा थियौँ।
हामी निकै थोरै थियौँ। त्यसैले हामीले केही अध्यक्षहरू र यहाँ वरिपरि देख्न सकिने केही मानिसहरूसँग मिलेर संघर्ष गरिरहेका थियौँ। हामीसँग अन्तरक्रिया गर्ने यस्ता अवसरहरू कहिल्यै थिएनन्, हामी अझै पनि शरणार्थी शिविरदेखि संयुक्त राज्य अमेरिकासम्मको जीवनमा अभ्यस्त हुन संघर्ष नै गरिरहेका थियौँ। तर त्यसपछि हामीले प्रयास गर्यौँ।
म पनि टीका ढुङ्गाना, विनय लुइँटेल, अशोक राई र अन्य व्यक्तिहरूसँगै ह्यारिसबर्गमा भुटानी समुदायलाई सहयोग गर्ने र संस्थाको आगामी कदम तथा हाम्रा लक्ष्य र उद्देश्यहरू के हुन् भनी तय गर्न खोज्ने मानिसहरूमध्ये एक थिएँ। त्यसैले म वर्तमान नेतृत्वलाई भन्न चाहन्छु कि तपाईंहरूले असाधारण काम गर्नुभएको छ, मलाई यो समुदायको हिस्सा हुन पाउँदा निकै गर्व लागेको छ। मैले विगत ३० देखि ३५ वर्षदेखि यस समुदायको सेवा गर्दै आएको छु। समुदायमा गरिने स्वयंसेवी सेवाको कुनै सीमा हुँदैन। हामी यो आफ्नै लागि गरिरहेका छौँ, मेरो मान्यता यही हो। हामी यो अरू कसैका लागि गरिरहेका छैनौँ।
तर अहिले परिस्थिति बदलिएको छ, त्यसैले हामी यो आफ्नै लागि, भुटानी समुदायका लागि, विस्थापित समुदायका लागि र अन्य समुदायका लागि पनि गरिरहेका छौँ। हामीले सबैलाई समेट्नका लागि आफ्ना लक्ष्यहरू विस्तार गर्नुपर्छ, किनकि अहिले हामी अमेरिकी भइसकेका छौँ र हामी शरणार्थी शिविरमा जस्ता थियौँ, अब त्यस्ता रहेनौँ। त्यसैले समुदाय र समाजमा सेवाको आवश्यकता भएका प्रत्येक व्यक्तिलाई समेट्नु हाम्रो कर्तव्य हो।
विगत केही वर्षहरूमा यो समुदाय एउटा सानो संस्थाबाट परिणत भई धेरै असाधारण कुराहरू सम्हाल्न सक्ने र ठूला उपलब्धिहरू हासिल गरिसकेको एउटा ठूलो संस्था बनेको छ। तर म यस तथ्यमा जोड दिन चाहन्छु कि हामी यहाँ समुदायको सेवा गर्नका लागि हौँ; उनीहरू कहाँका हुन्, को हुन् वा कुन समुदायका हुन् भन्ने कुराले केही फरक पार्दैन।
जब हामी कुनै पनि कार्यक्रम सुरु गर्छौँ, हाम्रो समुदायको सबैभन्दा ठूलो चुनौती मानसिक स्वास्थ्य हो। जससँग हामी अहिले मात्र होइन, युगौँदेखि संघर्ष गरिरहेका छौँ। शरणार्थी शिविरमा हुँदा पनि हामीसँग यस्ता केही समस्या थिए, तर अहिले त्यो अचानक बढेको छ। यो लहरका रूपमा आउँछ। यो सन् २०१२ मा थियो, त्यसपछि २०१५ मा, २०१६ मा र अनि २०१९ मा देखियो। के हामी हाम्रो समुदायका ती चिन्ता र छटपटीहरूलाई सम्बोधन गर्न सक्षम भएका छौँ? हामीले कार्यक्रम गरिरहेका छौँ, हामीसँग धेरै कार्यक्रमहरू छन्।
समुदाय, साथीहरू र दाताहरूले दिनुभएको सहयोग र मद्दतको म कदर गर्छु। तर हामी नै ती व्यक्ति हौँ जसले बसेर सोच्नुपर्छ कि—के त्यो फाइदा हाम्रो तल्लो तह सम्म पुगेको छ? के हामीले समस्यामा रहेका मानिसहरूको सेवा गरिरहेका छौँ? मानिसहरू अझै पनि किन एकाकीपन र अलगावमा बाँचिरहेका छन्?
के हामी उनीहरूका सम्म पुग्न सकेका छौँ? के हामी ती मानिसहरू कहाँ पुग्ने प्रयास गरिरहेका छौँ? मेरो चिन्ता यो हो कि हामीसँग एउटा सामुदायिक संस्था छ, हामीसँग समर्थन छ, हामीसँग कोष छ, तर के हामी खाँचोमा परेका मानिसहरू सम्म पुग्न सकेका छौँ? त्यसैले म सम्पूर्ण संस्थाहरू, निर्देशक समिति, अध्यक्ष र अन्य मानिसहरूलाई बसेर एउटा स्पष्ट मार्गचित्र तयार गर्न आग्रह गर्दछु।
आउनुहोस्, त्यस्ता कामहरू गरौँ जसले समुदायमा वास्तविक प्रभाव पारोस्। के हामीले उनीहरूमाथि प्रभाव पार्न सकेका छौँ? के हामीले हाम्रा संस्थाहरूको मूल्याङ्कन गरेका छौँ? के हामीले आफ्ना कामहरूको मूल्याङ्कन गरेका छौँ? हामीले धेरै कार्यक्रमहरू गरेका छौँ।
‘पाथवे’ वा यस्तै अर्को कुनै कार्यक्रम पनि छ, मलाई ठ्याक्कै नाम याद भएन, तर यी त्यस्ता संस्थाहरू र कार्यक्रमहरू हुन् जसलाई हेरेर मानिसहरूले आशा गरिरहेका छन् कि—”हो, मैले केही पाउनेछु, मैले मद्दत पाउनेछु।” के उनीहरूले कुनै मद्दत पाएका छन् त? के समुदायका तल्लो तहका मानिसहरूले मद्दत पाएका छन्? त्यसैले केवल अनुसन्धानमुखी हुनुभन्दा हामी बसेर मूल्याङ्कन गरौँ र त्यसपछि मात्र अगाडि बढौँ। मानिसहरूले केही मद्दतको अपेक्षा गरिरहेका छन् र म शतप्रतिशत निश्चित छु कि उनीहरूले कार्यक्रमको लाभ पाइरहेका छन्, तर कति मात्रामा पाइरहेका छन्, त्यसमा म विश्वस्त छैन।
त्यसैले म कार्यसमितिलाई स्पष्टीकरण दिन र मानिसहरूलाई उनीहरूको आवश्यकता अनुसारका कुराहरू उपलब्ध गराउन अनुरोध गर्दछु; र हामी यहाँ सहयोग गर्न तयार छौँ। हामी जुनसुकै हदसम्म गएर पनि सहयोग गर्न इच्छुक छौँ। म यो काम विगतदेखि नै गर्दै आएको छु, मलाई यसमा कुनै समस्या छैन।
अर्को कुरा, जब हामी शरणार्थी शिविरमा थियौँ, त्यहाँ संस्थाहरू त थिए तर हामी कुनै पनि कोष वा आर्थिक हिसाब-किताबका लागि जिम्मेवार थिएनौँ। त्यो काम हाम्रा दाता निकायहरूले गर्थे। तर यहाँ हामी एउटा स्वतन्त्र र बलियो संस्था हौँ। हामी योग्य र सक्षम मानिसहरू हौँ। त्यसैले हामी हाम्रा हिसाब-किताब, कोष र पारदर्शिताका लागि पनि जिम्मेवार छौँ।
तिलकजीले पहिले नै भनिसक्नुभयो कि—हो, यस्ता समयहरू पनि आउँछन् जब हामी पछि परिरहेका हुन्छौँ, हामीले जनतालाई विस्तृत रूपमा विवरणहरू भन्न सकिरहेका हुँदैनौँ। त्यो स्वीकार्य छ। मलाई लाग्छ हामीले यस कुरालाई पनि बुझ्नुपर्छ। तर यसका साथै, हाम्रो काम यति धेरै पारदर्शी हुनुपर्छ कि मानिसहरूले संस्थातर्फ औंला उठाउने ठाउँ नपाऊँन्।
र यसका अतिरिक्त, म निवर्तमान अध्यक्ष, निर्देशक समिति, वर्तमान निर्देशक समिति, समुदायका सदस्यहरू र व्यावसायिक संस्थाहरूलाई संकटको समयमा एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्नुभएकोमा बधाई दिन चाहन्छु।
म त्यस्तो वास्तविक संकटको समयको कुरा गर्दैछु, जब मानिसहरूसँग जाने कुनै ठाउँ थिएन। यसले मलाई हामी भुटानमा छँदा देश छोडेर भाग्नुपरेको समयको सम्झना गराउँछ। त्यो समयको परिस्थिति र सायद गत वर्ष वा यस्तै समयमा आएको परिस्थिति उस्तै थियो। यसले हामीलाई सोही कुराको सम्झना गरायो। त्यसैले मलाई लाग्छ कि हामीले सधैं मानिसहरूलाई सहयोग गर्ने प्रयास गर्नुपर्छ र बीसीसीपीएले यस दृष्टिकोणबाट असाधारण काम गरेको छ। म पूर्ण रूपमा अर्थात् १०० प्रतिशत खुसी त छैन, म ९५ प्रतिशत खुसी छु, तर म उनीहरूले १०० प्रतिशत नै भएर काम गरेको हेर्न चाहन्छु।
अरू धेरै कुराहरू पनि छन्, तर समय अभावका कारण म आफ्ना भनाइहरू यहीँ रोक्न चाहन्छु। धेरै-धेरै धन्यवाद। बीसीसीपीएलाई सहयोग गर्नुभएकोमा दाताहरू र अतिथिहरूलाई धन्यवाद, र हामी भविष्यमा पनि यहाँहरूको यस्तै सहयोगको अपेक्षा गर्दछौँ। धेरै-धेरै धन्यवाद। धन्यवाद।
(भुटानीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (बीसीसीपीए ) को शनिवार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आयोजित १५ औ वार्षिक उत्सव तथा ‘गाला २०२६’ मा डा. खेम अधिकारीको मन्तव्य )
















