भारतीय परिवारलाई अवैध रुपमा डुंगाबाट अमेरिका ल्याउदै गर्दा बेलायती नागरिक पक्राउ
फाजार्डो, पोर्टो रिको / भारतीय परिवारलाई अवैध रुपमा ढुंगाबाट अमेरिका प्रेवस गराउन लागेको आरोपमा एक बेलायती नागरिक पक्राउ परेका छन् ।
यू.एस. कस्टम्स एण्ड बर्डर प्रोटेक्सन (सीबीपी) र पोर्टोरिको प्रहरीको संयुक्त टोलीले पोर्टोरिकोको कुलेब्रा द्वीपनजिकै समुद्री मार्गबाट मानव तस्करी गरिएको आशंकामा अनुसन्धानन गर्दा एक बेलायती नागरिक पक्राउ परेका हुन् ।
सीबीपीका अनुसार सेप्टेम्बर १५ को बिहान करिब ६ः३० बजे सेन्ट थोमस, यूएस भर्जिन आइल्यान्ड्सबाट कुलेब्रातर्फ जाँदै गरेको एउटा डुंगा देखिएपछि फाजार्डोस्थित समुद्री इकाइलाई जानकारी गराइएको थियो।
त्यसपछि फाजार्डो समुद्री इकाइका अधिकारीहरूले कुलेब्रास्थित पोर्टो रिको प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा डुंगा किनारमा पुगेको र त्यसबाट एक वयस्क पुरुष, एक वयस्क महिला र एक नाबालक गरी भारतीय नागरिकको एक परिवारलाई नियन्त्रणमा लिएको सीबीपीले जनाएको छ।
परिवारलाई ल्याउने डुंगा खोज्न फाजार्डो समुद्री इकाइले दुईवटा डुंगा परिचालन गरेको थियो। खोजीका क्रममा एउटा डुंगा फेला पारेर रोकिएको र त्यसमा एक जना मात्र रहेको बताइएको छ।
सीबीपीको रेमी सेक्टर बोर्डर पेट्रोल तथा होमल्यान्ड सेक्युरिटी टास्क फोर्सको मानव तस्करीसम्बन्धी इकाइले गरेको सोधपुछपछि डुंगा चालक काभोन ह्विट्ली, ब्रिटिस भर्जिन आइल्यान्ड्सको टोर्तोलाका बेलायती नागरिक, विरुद्ध अमेरिकी कानुनको धारा ८ यूएससी १३२४ अन्तर्गत विदेशी नागरिक तस्करीसम्बन्धी अभियोग लगाउने प्रक्रिया अघि बढाइएको सीबीपीले जनाएको छ।
भारतीय परिवारलाई लागू हुने अध्यागमन कानुनअनुसार प्रक्रिया अघि बढाएर देश निकाला सम्बन्धी कानुनी प्रक्रियामा राखिने सीबीपीले जनाएको छ। परिवारसहित घटनामा संलग्न सबैलाई थप प्रक्रियाका लागि रेमीस्थित बोर्डर पेट्रोल स्टेसनमा लगिएको छ।
सीबीपीका अनुसार परिवारलाई ल्याउन प्रयोग गरिएको डुंगा र त्यसमा जडान गरिएको २०० हर्सपावरको इन्जिन पनि जफत गरिनेछ।
क्यारिबियन एयर एन्ड मरीन शाखाका निर्देशक क्रिस्टोफर हन्टरले मानिस तस्करी गर्नेहरूले नाफाका लागि जोखिमपूर्ण समुद्री मार्ग र असुरक्षित अवस्थाको प्रयोग गर्ने गरेको बताएका छन्। उनका अनुसार कुलेब्रा घटनामा एयर एन्ड मरीन अपरेसन, यूएस बोर्डर पेट्रोल, पोर्टो रिको प्रहरी तथा अन्य संघीय निकायबीचको समन्वय महत्त्वपूर्ण देखिएको छ।















