कर्मकाण्डभन्दा माथि: हाम्रा सम्प्रदाय, पण्डित र धार्मिक संस्थाहरूको सामाजिक दायित्व
भरत तिम्सिना
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / हाम्रो भुटानी अमेरिकन समुदाय परिवर्तनको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। तीन-तीन वटा पुस्ता एकै ठाउँमा हुर्कँदै गर्दा एकातिर हजुरबुबा-हजुरआमा र आमाबाबुले बोकेर ल्याएको बलियो धार्मिक तथा सांस्कृतिक पहिचान छ भने, अर्कोतिर आधुनिक समाजमा घुलमिल हुँदै हुर्किरहेको नयाँ पुस्ता छ। हाम्रो जीवनशैली, सोच, र सामाजिक घुलमिलकातरिकाहरू तीव्र गतिमा बदलिएका छन्। तर यो परिवर्तनसँगै केही यस्ता गम्भीर चुनौतीहरू पनि आएका छन्, जसलाई अब हामीले “व्यक्तिगत वा घरायसी मामिला” भनेर उपेक्षा गर्न मिल्दैन।
हाम्रो समाजमा आज मदिराको बढ्दो प्रयोग, मानसिक तनाव, घरेलु अशान्ति, सम्बन्धमा आउने दरार र आत्महत्या जस्ता गम्भीर समस्याहरू देखिन थालेका छन्। गएको वर्ष मात्रै हाम्रै समुदायभित्र एक वृद्ध र १६ वर्षका किशोरले आत्महत्या गरे, दुई जना श्रीमानले आफ्ना श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरे, अनि अरू कयौँ आत्महत्याका घट्नाहरूसार्वजनिक भए।
अझ घरायसी हिंसा र मानसिक शोषणका कतिपय घटनाहरू त घरको चार भित्ताभित्रै दबाइएका छन् जसको हिसाब कसैसँग छैन। यस्ता समस्याहरू एकाएक आउँदैनन्; यी त बदलिँदो जीवनशैली, परम्परागत अपेक्षाहरूको बोझ र आधुनिक स्वतन्त्रताबीचको असमझदारीबाट उब्जिन्छन्। तर प्रश्न उठ्छ: यस्तो परिस्थितिमा हाम्रा सम्प्रदाय,पण्डित,पुरोहित र धार्मिक संस्थाहरूको भूमिका के हुनुपर्छ? के उनीहरूको काम केवल पूजापाठ गराउने र मन्त्र उच्चारण गर्नेमा मात्र सीमित रहने कि समाजको रक्षाका लागि अगाडि बढ्ने?
सम्प्रदाय भन्नेबित्तिकै हाम्रो ध्यान धर्म, पूजा, संस्कार र गुरु-परम्परातर्फ जान्छ। त्यो स्वाभाविक हो। तर सम्प्रदायको इतिहासलाई अलि फराकिलो रूपमा हेर्ने हो भने यसको अर्को महत्त्वपूर्ण पक्ष देखिन्छ। सम्प्रदाय केवल पूजा गर्ने समूह थिएन; यो सामाजिक जीवनलाई अनुशासित र सुरक्षित बनाउने एउटा बलियो संरचना थियो। इतिहासमा पण्डित र सम्प्रदायहरू केवल कर्मकाण्डमा सीमित थिएनन्। तिनीहरू ज्ञान हस्तान्तरण गर्ने, समाजमा आचार र अनुशासन कायम गर्ने, पारिवारिक विवादहरू सुल्झाउने र समस्यामा परेकाहरूलाई आश्रय दिने माध्यम थिए।
गाउँघरको वातावरण सम्झियौँ भने, त्यहाँ मानिसहरूबीच एउटा अलिखित सम्झौता थियो। छिमेकी केवल “घरछेउको मान्छे” थिएन, उनीहरू काका, काकी, मामा, माइजू, दाइ वा दिदी थिए। गाउँमा कुनै बच्चा बाटो बिराउँदै छ वा जोखिममा छ भने छिमेकीले निर्धक्क भएर “यो नगर” भन्थे वा उसलाई जोगाउँथे। आमाबाबुले पनि त्यसलाई अपमान मान्दैनथे, बरु धन्यवाद दिन्थे। “मेरो बच्चालाई कसैले सम्झायो भने मेरो बच्चाकै भलो हुन्छ” भन्ने बुझाइ थियो। “आज मैले तिम्रो बच्चाको ख्याल राखेँ भने भोलि तिमीले मेरो बच्चाको ख्याल राख्नेछौ” भन्ने साझा जिम्मेवारीको भावना थियो। कसैको घरमा संकट पर्दा वा अन्याय हुँदा सिङ्गो समुदाय उसको वरिपरि उभिन्थ्यो। त्यहाँ धर्म भनेको केवल मन्दिरमा ढोग्नु मात्र थिएन; धर्म भनेको एकअर्काको सुरक्षा र मर्यादाको ख्याल राख्नु थियो।
पुराना सबै कुरालाई रोमान्टिक बनाएर हेर्नुपर्छ भन्ने छैन—पुराना कतिपय अनुशासनका तरिकाहरू कठोर थिए र तिनलाई दोहोर्याउनु हुँदैन। तर ती सम्बन्धहरूभित्र रहेको मूल मर्म—आपसी सुरक्षा र साझा जिम्मेवारीलाई आजको सन्दर्भमा पुनर्जीवित गर्न आवश्यक छ। विगतमा बालबालिका हुर्काउनु सिङ्गो गाउँको जिम्मेवारी मानिन्थ्यो भने आज परिवारहरू बन्द कोठाभित्र सीमित छन् र अर्काको बच्चा अप्ठ्यारोमा परेको देख्दा पनि मानिसहरू बोल्न हिचकिचाउँछन्। पहिले पण्डित र पुरोहितहरू विवाह वा पूजा मात्र गराउने नभई परिवारको भलाइ र नैतिक दायित्वबारे मार्गदर्शन दिने सामाजिक सल्लाहकार थिए, तर आज उनीहरूको भूमिका केवल पूजाको समयमा बोलाइने र अनुष्ठान सकिएपछि दायित्व सकिने परिपाटीमा सीमित भएको छ।
त्यसैगरी, विगतका सम्प्रदायहरू ज्ञान, अनुशासन र सङ्कटमा सहयोग पुर्याउने पूर्ण सामाजिक सहारा थिए, जबकि आज ती केवल चाडपर्वमा मानिसहरू भेला हुने कार्यक्रम आयोजकजस्ता मात्र बनेका छन्। पहिले कसैमाथि अन्याय वा संकट पर्दा समुदायले त्यसलाई आफ्नो विषय मानेर सहयोग गर्थ्यो, तर आज घरेलु हिंसा, तनाव वा मदिराको समस्यालाई लाज वा इज्जतको डरले व्यक्तिगत मामिला बनाएर गुपचुप राखिन्छ। अब यी सबै पक्षमा व्यावहारिक रूपान्तरण आवश्यक छ।
विशेष गरी प्रवासमा वा आधुनिक सहरहरूमा हामी यस्तो वातावरणमा छौँ जहाँ छिमेकी छिमेकीबीच परिचयसम्म हुँदैन। जब परिवारभित्र मदिराको समस्या, घरेलु हिंसा, दम्पतीबीचको तनाव वा मानसिक स्वास्थ्यको सङ्कट आउँछ, मानिसहरू “इज्जत जाने” डरले कसैलाई भन्न सक्दैनन्। तर सोचौँ त, यदि आफ्नै घरभित्र बालबालिका, महिला वा ज्येष्ठ नागरिक सुरक्षित छैनन् भने, त्यो समुदायको धर्म र संस्कृति कति सुरक्षित रहन्छ? धर्म र संस्कृतिको निरन्तरता केवल मन्दिर, पूजा वा भव्य धार्मिक कार्यक्रममा हुँदैन, त्यो मानिसहरूको दैनिक जीवन र परिवारभित्रको सम्बन्धमा हुन्छ।
यसको अर्थ सम्प्रदाय वा पण्डितहरूले प्रहरी, अदालत वा चिकित्सकको भूमिका लिनुपर्छ भन्ने होइन। बरु उनीहरूले समाजलाई सही बाटो देखाउने र सहयोगको वातावरण बनाउने काम गर्नुपर्छ। पुराण, कथा वा पूजाका अवसरमा जब ठूलो संख्यामा मानिसहरू जम्मा हुन्छन्, पण्डित र धार्मिक गुरुहरूले ती मञ्चहरूबाट केवल पुराना कथा मात्र सुनाउने होइन, आजका यथार्थहरूबारे पनि बोल्नुपर्छ। परिवारभित्र परस्पर सम्मान, मदिराको असर, महिला र बालबालिकाको सुरक्षा तथा मानसिक स्वास्थ्यका विषयमा धर्म ग्रन्थकै आधार दिएर सम्झाउनुपर्छ। जब कुनै परिवार सङ्कटमा हुन्छ, उसलाई चिकित्सक, मनोविमर्शकर्ता वा कानुनी निकायको सहयोग लिन प्रोत्साहित गर्नु धर्मविरुद्ध होइन, बरु सबैभन्दा ठूलो धर्म हो।
धर्म जोगिनका लागि समुदाय जोगिनुपर्छ र संस्कृति जोगिनका लागि मानिसहरू सुरक्षित हुनुपर्छ। सम्प्रदायले विगतमा के पूजा गर्यो भन्ने कुरा महत्त्वपूर्ण छ, तर उसले के जोगायो, कसलाई जोड्यो र मानिसहरूबीच कस्तो सामाजिक जीवन निर्माण गर्यो भन्ने कुरा अझ बढी महत्त्वपूर्ण छ। जब हामी कसैलाई काका, दाइ, दिदी वा बज्यै भन्छौँ, तब ती नाताहरूसँगै आउने जिम्मेवारीलाई पनि सम्झिनुपर्छ। हाम्रा पण्डित, पुरोहित र सम्प्रदायहरूले समाजको यो मर्मलाई बुझेर अगाडि बढ्ने हो भने मात्र हाम्रा धार्मिक स्थलहरू केवल पूजा गर्ने ठाउँ मात्र होइन, साँच्चिकै प्रत्येक व्यक्तिको सुरक्षा र सहाराको केन्द्र बन्न सक्नेछन्।















